उस्को आँखामा
सपनाको बिरुवा समेत छैन
भरोसा,थोत्रो कपडासँगै कुनै कुनामा।
छ त केवल
आँखामा थोरै आशा
त्यो पनि ढलपल ढलपल
हराउनै आँटे जस्तो,
झर्नै आँटे जस्तो, टिलपिल टिलपिल !
छ त केवल
हातमा आधा कित्ली मनतातो चिया,
र छाती भित्र एक्लै कठ्याङ्ग्रीएको मुटु !
आँखा अगाडि असिमित मोटो भिड,
तर आफू भित्र निसास्सिएको एउटा दुब्लो मान्छे।
आउँदै
गरेको भिडलाई हेर्छ
त्यही भिडलाई गएको पनि हेर्छ ऊ
उस्को अनुहारमा टाँसिएका चाउरीहरुको
खुट्किला माथि चढेर हेर्छ !
कसैको आँखा
उस्को मनतातो चियामा जाओस्
अनि सायद धेरै दिनदेखिको
उस्को चिसो चुलामा
पाक्नेछ एक गाँस जीवन !!
धर्मराउँदै
गरेको गलालाई सम्हाल्दै
एउटा सिधा प्रश्न गर्छ,
चिया पिउनु हुन्छ?
यसरी नै
बिदा गर्छ ऊ
पुर्वको सुर्यलाई पस्चिमसम्म पुर्याएर
हरेक दिन, हरेक महिना, हरेक बर्ष !
सपनाले
छोडेको शरीर
घिस्याउन अल्छी लाग्दो हुँदो र'छ !
गन्तब्य बिनाको खरानी रङ्गको
आयु पनि लामो लाग्दो र'छ ।।
- वेदना
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८ १०:३७