काठमाडौ । नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएको छ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा २ हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी भएको हो।
उनका निकटतम प्रतिस्पर्धी कमला पन्तले २ हजार १०५ मत ल्याएको छ। महिलातर्फ कूल ४ हजार ६५० मत खसेकामा ५४ मत बजर भएको कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिएका हुन्।
यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएको छ। उनले २ हजार २१२ मत ल्याएर विजयी भएको हो।
उनका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले २ हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरेको छ। दलिततर्फ कूल ४ हजार ६७० मत खसेको थियो।
त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे ३ हजार ७११ मतका साथ विजयी भएको छ। उनका निकटतम प्रतिस्पर्धी विकास लामाले १ हजार ९१३ मत प्राप्त गरेको छ।
आदिवासी जनजातीतर्फ कूल ४ हजार ६८१ मत खसेको थियो। कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो। कांग्रेस सहमहामन्त्रीमा ८ जना निर्वाचित हुने व्यवस्था छ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८ ०८:५४