काला हिउँका थुप्राहरुमा
कुरुप समाजको उचाई भेट्टाई
गौरवताकासाथ झण्डा गाड्नेहरुका भिड्मा
एउटा चञ्चले अनि गम्भिर मस्तिष्क
बात्सल्यको विम्ब बनि पृथ्वीमा खसेर
आमाको काखबाट आरोहणको शुभारम्भ
हौसलाका साथ गर्दै प्रेममा लिप्त हुने
चाहनाको प्रतिनीधित्व गरेको दिन
रतिहरु भेट्टाएर मस्त हुँदै
निश्चल भावनाहरु साट्ने जमर्कोहरुले पूर्णता पाएर
पिरतीका गीतहरु मनैबाट गाएर
त्यसैको प्रतिफल मायाको चिनोहरु पाएर
आकाश छोइरहेको बेला
एक्कासी बादल गर्जिएर
कसैप्रति समर्पित मन
पूनः पृथ्वीमा खसेको पल
पवित्र चाहनाहरुप्रति भएको छल
अनि चौतारीमा विश्राम लिन
आत्तुरिदै जोगाएको आत्मबल
आज भक्कानिएर
आँशुलाई कमजोरीका रुपमा देख्ने
आँखाहरुसँग लुक्दै रोइरहेको छ
अरुको आफनो अनि
जगतकै मनलाई धोइरहेको छ
सामाजिक संरचना र सस्कारको हिँउँले पुरिँदा पनि
उठेर लड्दै लडेर फेरी उठ्दै
किरणहरु जन्माउने विहानी पर्खेर
काला दिनहरुसँग जोरी खोज्दै
अध्याँरोमा चम्केकी
आँशु लुकाई शिखरतिर लम्केकी
आरोहीको आँखालाई छिनछिनमा हेर्दा
कहिले कविताको निश्चलतामा विश्वास देख्छु
कहिले कविका विरुद्ध लक्षित लाञ्छनाहरु
पुष्टि गर्न मञ्चित क्रिया अनि प्रतिक्रिया देख्छु
अनि नेपथ्यबाट मध्येरातमा उदाएको
कालो सूर्यबाट निर्देशित अभिष्ट पनि
तर जसलाई जे जस्तो लागे पनि
इतिहास बनि टाँस्सिएका कसिंगर बढारेर फाल्दै
जाँगरिलो र उत्साहको पाइला चाल्दै
नथाकि नहारि जीन्दगीसँग
सहयात्रिको खोजीमा
हिमालको यात्रा जारी राख्ने आरोहीलाई
चिने झै लाग्छ बुझे झै लाग्छ
धेरै शब्द र वाक्यहरुको रंगले पोतिएको
लियोनार्दो दा भिञ्चिको विश्वकै प्रशिद्ध
मोनालिसाको रहस्यमय चित्र झै
आँखामा आरोहीको न देख्छु आँशु
न त देख्छु अनुहारमा हाँसो
नबुझ्नेका लागि सार्है सस्तो
खै हाम्रो आरोही कस्तो कस्तो
न हाँसे जस्तो न रोए जस्तो ।
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८ १२:४८