काठमाडौ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन ॐ कार परिवारभित्रका तीन सम्प्रदायले मनाउने प्रमुख तीन चाड जसको नाम फरक भए पनि भाव भने एउटै छ। खस आर्यले धान्य पूर्णिमाका रूपमा खेतबारीबाट आएका नयाँ धानलगायत अन्नको पूजा आराधना गरेका छन्।
यस दिन नयाँ अन्न कूलदेवतालाई चढाएर कूलपूजा गर्ने परम्परा पनि खसआर्यका धेरै वंशमा हुनेगर्छ। यसअघि नवान्नप्राशन गर्न नपाएकाले आजैका दिन नवान्नप्राशन गर्छन्। धान्य पूर्णिमा पर्व मनाउनुको मुख्य उद्देश्य नयाँ अन्नको पूजा आराधना गर्ने र देवतालाई चढाएर कृतज्ञता ज्ञापन गर्ने शास्त्रीयविधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।
खस आर्यका धेरै थर भएका बन्धुबान्धव एकै स्थानमा जम्मा भई कूल पूजा गर्छन्। जसलाई दियाली पनि भनिन्छ। कूलदेवता, इष्टदेवता, ग्रामदेवतालाई नयाँ अन्न चढाएर मात्र आफूले खाने सनातनदेखिको विधिका आधारमा यो पर्व मनाउन थालिएको हो।
यसैगरी नेवार समुदायले आजको दिनलाई योमरी पुन्हि अर्थात् योमरी पूर्णिमाका रूपमा मनाएका छन्। योमरी अर्थात् मनपरेको रोटी पनि नयाँ धानको चामलबाट बनाउने परम्परा रहेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग बताउँछन्।
नेवार समुदायमा पनि धानलगायत यसवर्ष उब्जनी भएको नयाँ अन्नबालीलाई पूजा आराधना गरिन्छ। बिहानैदेखि नेवार समुदायका मानिस स्नान, घरको सरसफाइ गरी योमरी बनाउन थाल्छन्।
नयाँ धान कुटेर चामलबाट बनाएको पिठोमै योमरी बनाउने गरिन्छ। हिमाल, पहाड, तराई सबैतिरको धान मार्गशीर्ष शुक्ल पूर्णिमासम्म भित्र्याइन्छ। धान भित्र्याएपछि कुनै न कुनै रूपमा भगवान्लाई अर्पण गरेरमात्र खाने परम्पराका आधारमा यी पर्व मनाउन सुरु गरिएको हो।
नेवार समुदायले आजको दिनलाई ज्यापू दिवसका रूपमा पनि मनाउँछन्। नेवारभित्र पनि विशेषगरी खेतीपातीमा संलग्न हुनेलाई ज्यापू भनिन्छ। उनीहरूले उब्जाएको धानबाट योमरी बनाइने भएकाले आजको दिनलाई ज्यापू दिवसका रूपमासमेत मनाउने गरिएको हो।
प्रकृतिपूजक किराँतले मनाउने उद्यौलीको भाव पनि नयाँ अन्नको पूजा किराँत समुदायले भने आजको दिनलाई उद्यौली पर्वका रूपमा मनाएका छन्।
पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उद्यौली पर्व मनाउने गरेका छन्। प्रकृतिपूजक किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उद्यौली सकेला र लिम्बूहरूले चासोक तङनाम पर्वका नाममा उद्यौली धुमधामसँग मनाउने गरेका छन्।
किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उद्यौलीका नामले चिनिने बताउँछन्। किराँत समुदायभित्रका फरक–फरक थरले फरक रूपमा मनाउने पर्वको पनि भाव भने एउटै छ।
किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उद्यौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन्।
बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ। भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।
ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ। किराँतहरूको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेष रूपमा मनाइएको छ।
लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन्। तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने अनुसन्धाता राई बताउँछन।
पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाच लगायत नाच नाचेर मनोरञ्जन गर्छन्। पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ।
वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उद्यौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रुपमासमेत लिइने राईले बताए। जाडोमा तल झर्ने गर्मीमामाथि लेकमा जाने रूपमा पनि उद्यौली र उभौली पर्वलाई लिने गरिन्छ।
उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उद्यौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ। दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन्।
खसआर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने योमरी पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उद्यौली पर्वको भाव भने एकै छ।
नयाँ अन्नबाली भित्र्याएपछि आ–आफूले मानेका देवीदेवतालाई चढाएर खाने परम्परागत नियमको पालनामा तीनै पर्व केन्द्रित हुने गरेको छ।