ललितपुर । तन्त्रविद् महेश्वर जुजु राजोपाध्यायबाट लिखित पुस्तक ‘नेपाल आँखाको नानी हो’ र नव साहित्यकार नीलप्रभा राजोपाध्यायबाट लिखित ‘आमा’ पुस्तकको लोकार्पण भएको छ।
ललितपुर मंगलबजारस्थित दरवार परिसरको मणिकेशव नारायण चोकमा आयोजित एक कार्यक्रमकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उक्त दुई पुस्तकको लोकार्पण गरेको हो।
कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रेष्ठले नेपाली मौलिक संस्कृतिमा लुकेको जीवन दर्शनले समाजलाई सभ्य र सुसंस्कृत बनाउने विचार राख्दै अहिले आयातित संस्कृतिमा समाज रुमल्लिँदा समस्या बढेको दावी समेत गरेका थिए।
‘नेपालमा विदेशी च्यानलको प्रभाव बढेसँगै विदेशी संस्कृति पनि हावी हुँदै गएको छ। यसैकारणले अहिलेको युवा पुस्ताले नेपाली संस्कृति बिर्सिन थालेका छन्’, मन्त्री श्रेष्ठको भनाई थियोे, ‘हामीले आफ्नो संस्कृतिको मौलिकतालाई बुझेर, यसको दर्शनलाई जानेर अघि बढ्नु आवश्यक छ।’
पुस्तक लोकार्पण कार्यक्रम समारोहमा आफ्नो पुस्तकको विषयवस्तु बारे प्रकाश पार्दै तन्त्रविद् जुजुले वैदिक परम्पराको नाममा नेपाली समाजमा कौल परम्परा लोप हुँदै गएको बताएका थिए।
वर्तमान समयमा मन्त्रोच्चारण गर्ने वैदिक परम्परालाई प्राथमिकतामा राखिँदा देवी देवतासँग साक्षात्कार गर्ने तन्त्रको व्यवहारिक पक्षबाट टाढिएको बताउँदै जुजुले भने, ‘हाम्रो संस्कृतिले व्यवहारमा जोड दिएको छ, तर हामीले त्यो बिर्र्सँदै गएको छौं। हामी वेद पाठमै मात्र किन रमाउँछौं, तान्त्रिक विधि व्यवहार हाम्रो संस्कृतिको मौलिकता हो भन्ने नबिर्सौं’।
त्यस्तैगरी नव साहित्यकार नीलप्रभाले आफ्नी दिवंगत आमाको सम्झनामा आफूले लेखेका शब्दहरुले अहिले ‘आमा’ पुस्तकको रुप लिएको बताएका थिए भने कार्यक्रममा राजोपाध्याय समाजका अध्यक्ष संजय शर्मा राजोपाध्याय, संस्थापक अध्यक्ष वदन ज्वालानन्द राजोपाध्याय र उपाध्यक्ष रचना शर्मा राजोपाध्यायले समाजको गतिविधिहरुको बारेमा जानकारी गराउँदै समाजको हक, अधिकार र पहिचान स्थापित गर्न क्रियाशिल रहनुपर्ने कुरामा जोड दिएका थिए।
सोही कार्यक्रम समारोहमा नेपाली समाजमा विदेशी आयातित संस्कृतिको प्रभावका कारण नेपालको मौलिक संस्कृति धरापमा परेको विषयमाथि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।
तन्त्रविद् जुजुद्वारा लिखित पुस्तक ‘नेपाल आँखाको नानी हो’ राजोपाध्याय समाजले प्रकाशन गरेको हो। प्रकाशित पुस्तकको मूल्य २ सय रुपैयाँ राखिएको छ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८ २०:१६