काठमाडौ । नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसङ्गठन प्रभावकारी बनाउन सुझाव दिन कार्यदल गठन गरेको छ।
पार्टीको १०औं राष्ट्रिय महाधिवेशनपछिको केन्द्रीय कमिटीको बैठकले गठन गरेको जनसङ्गठन संयन्त्रका पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो।
कार्यदलका सदस्यमा गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुङ्गेल, विष्णु रिजाल र रचना खड्का रहेको छ।
कार्यदलले जनसङ्गठनका पदाधिकारी कति जना रहने? जनसङ्गठनमा काम गर्नेहरूको पार्टीमा स्टाटस के हुने? जनसङ्गठनबाट बिदा भएका पार्टी काममा पुगेका छैनन् भने कसरी पुर्याउने? भन्ने विषयमा छलफल गरेर मोर्चा संयन्त्रको बैठकमा सुझाव पेश गर्नेछ।
संयन्त्रको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, जनसङ्गठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू उपस्थित थिए।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८ २१:०२