-टेकेन्द्र बोहरा
बझाङ । बझाङ जिल्लामा नक्कली नागरिकता बनाउन सिफारिसमा हस्ताक्षर गरेको आरोपमा वडा अध्यक्ष्य मँगलवार पक्राउ परेका छन्। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिकाका-१ का वडाध्यक्ष गगन सिँहलाई प्रहरीले पक्राउ गरेको हो।
सोही वडाका सतिश बहादुर सिँहको नक्कली नागरिकता बनाउन सिफारिस गरिएको भन्दै वडाध्यक्ष सहित सिफारिस बनाउने वडासचिव करन विक, वडाका लेखापाल अजय बहादुर सिँहलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
सोही वडामा रहेको नारायण मावि का प्रधानाध्यापक ऐन बहादुर सिँहलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रधानाध्यापक सिँहलाई सोही व्यक्तिको कक्षा ८ को नक्कली मार्कसिट बनाईदिएको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ज्ञान बहादुर विष्टले बताएका हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २०६८ सालमा एसएलसी दिएर फेल भएको ब्यक्तिलाई नक्कली मार्कसिट बनाएर नेपाल प्रहरीमा जागिर लगाईदिने आस्वासन दिएर नक्कली प्रमाणपत्र जुटाउन लागेको खुल्न आएको छ।
जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक सतेस बहादुर सिंहको नामबाट नागरिकता लिएको र अहिले उनै ब्यक्तीको नाम परिवर्तन गरि वडाबाट सिफरिस आएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८ २०:३४