काठमाडौ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले तालिमले कमाण्डतहको जिम्मेवारी पूरा गर्न सक्षम, प्रभावकारी एवं भविष्यमुखी नेतृत्वको विकासमा अहम् भूमिका निर्वाह गर्ने बताएको छ।
नगरकोटस्थित नेपाली सैनिक बार कलेजमा सञ्चालन भएको दशौँ समूहको हाइयर कमाण्ड तथा व्यवस्थापनसम्बन्धी तालिमको जङ्गी अडडामा समापन गर्दै प्रधानसेनापति महारथी शर्माले शिक्षार्थीलाई रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार र सल्लाहकारका रूपमा समेत सक्षम बनाउने विश्वास व्यक्त गरेको हो।
दुई महिला सैनिक अधिकृतसहित ३५ महासेनानीको सहभागिता रहेको उक्त तालिम गत भदौ १३ गते सुरु भएको थियो। उक्त तालिममा महासेनानी सुरज गुरुङ प्रथम भए भने महासेनानी विमलकुमार बस्नेतको शोधपत्र उत्कृष्ट भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सेनामा सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो।
विसं २०७१ देखि नगरकोटस्थित सैनिक बार कलेजमा सञ्चालन हुँदै आएको यस तालिममा उक्त कलेजबाट हालसम्म नौ महिला सैनिकसहित जम्मा २७२ जना अधिकृत दीक्षित हुनु भएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८ २०:४०