काठमाडौं। पर्वत जिल्लाको विहादी गाउँपालिकामा वि.सं. २०२२ साल असार ३ गते जन्मिएका जित बहादुर लामिछानेले गाउँमै एसएलसी पास गरेर उच्चशिक्षाको लागि काठमाडौं आए। पढ्नमा अब्बल लामिछानेलाई बुवाले नै काठमाडौं पढ्न पठाएको बताए।
काठमाडौं आएर सरस्वती क्याम्पसमा भर्ना भएको र आइए पास भएपछि जागिरको सिलसिलामा काठमाडौंको विजेश्वरीस्थित गीतामाता माध्यमिक बिद्यालयमा छोटो समय मात्र पढाएको बताए।
त्यसपछि वि.सं. २०४४ सालमा काठमाडौंको बाफलस्थित ज्ञानाेदय माध्यामिक बिद्यालयमा पढाउनको लागि आबद्ध भएको बताए। करिब २५ वर्ष ज्ञानोदयमा शिक्षक भएर पढाएको सुनाए।

अंग्रेजी विषय आफूलाई असाध्य मनपर्ने विषय भएकोले अंग्रेजी विषय नै पढाएको बताए। आफ्नो जीवनको करिब ३४ वर्ष यही शिक्षण पेशामा आबद्ध लामिछानेलाई कहिले पनि यो पेशामा आबद्ध हुन्छु भन्ने लागेको थिएन।
काम गर्दै जाँदा यही पेशा नै सर्वोकृष्ट भएको बताउँदै उनी भन्छन्, "जीवनमा विभिन्न किसिमका अवरोध तथा चुनौतीहरु नआएका होइनन्, तर त्यसलाई समाधान गरेर अघि बढ्न सकेमा सफल हुन सकिन्छ। संघर्ष हरेकको जीवनमा आउँछन् आत्तिएर डराउनु हुँदैन, त्यही संघर्षलाई नै अवसरको रुपमा लिन सकियो अवसरले आफूलाई नै पछ्याउँछ।"
वि.सं. २०६८ सालमा जनपथ माध्यमिक बिद्यालयको प्रधानाध्यापक भएर बिद्यालय आउँदा सुधार गर्नुपर्ने उनीमाथि धेरै चुनौतीहरु थिए। त्यसो त उनी एकै पटक प्रधानाध्यापक भएर बिद्यालय प्रवेश गरेको भने होइन। काठमाडौंको कलंकी-१४ स्थित जनपथ माध्यमिक बिद्यालयमा बिहानको कक्षामा पढाउने काम गर्थे। त्यसैक्रममा पूर्व प्रधानाध्यापकले अवकाश लिएपछि सो जिम्मेवारी आफ्नो काँधमा आएको बताउँछन्।
वि.सं. २०६० सालमा काठमाडौं महानगरपालिकाले बाटो विस्तार गर्ने क्रममा सोल्टीमोडस्थित रहेको जनपथ माध्यमिक बिद्यालयको भवन भत्काइदिएको थियो। त्यसपछि विद्यालय भवन बिहिन हुन पुग्यो। करिब तीन ठाउँमा बिद्यालय सर्नु परेको कटु यथार्थता पनि लामिछानेले खुलासा गरे। आफू प्रधानाध्यापक भएर आएपछि सबैभन्दा पहिलो काम नै भवन निर्माण गर्ने थियो। त्यसको लागि धेरै प्रयास गरेको बताउँछन् प्रधानाध्यापक लामिछाने।
प्रधानाध्यापक लामिछानेले भने, "तत्कालिन नेपाल सरकार सचिव बालानन्द पौडेल जो अहिले प्राकृतिक श्रोत साधनका अध्यक्ष पनि हुनुहुन्छ, उनको सहयोगमा काठमाडौं महानगरपालिकामा हामी डेलिगेशन गयौं र तत्कालिन कार्यकारी प्रमुखको पहलमा बिद्यालयको भौतिक निर्माणको लागि पहल गरिदिनु भयो।"
त्यसपछि ०६९ सालमा बाँकी रहेको भवन निर्माण भयो। र करिब ५ वर्षको बिचमा यस बिद्यालयको ३२ कोठे भवन निर्माण भयो। बिद्यालयमा अहिले १२ कक्षासम्मको पढाई सञ्चालन हुँदै आएको पनि लामिछानेले वताए।
बिद्यालय एउटा रमणीय वातावरणमा हुनुपर्छ भन्ने मान्यता राख्ने प्रधानाध्यापक लामिछानेले बिद्यालयको प्राङगण वरिपरि विभिन्न प्रकारका बोट-विरुवाहरु लगाएका छन्। अरुको सम्मान गर्न जाने मात्र आफूले पनि सम्मान पाइन्छ उनको भनाई रहेको छ।
"स्थानिय अभिभावकको चाहना अनुसार नै आफूले पनि बिद्यालय सञ्चालन गराइरहेका छौं," प्रधानाध्यापक लामिछाने भन्छन्, "सूचना प्रविधिमा पनि उत्तिकै पहुँच पुर्याउन पर्छ भनेर कम्युटर ल्याब, स्मार्ट बोर्ड, सीसी क्यामेराहरु लगायत अन्य आबश्यक शैक्षिक सामग्रीहरु खरिद गरेर बिद्यार्थीहरुको लागि सुविधा उपभोग गराएका छौं।"