काठमाडौ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान शुरुवात गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि न्यूरोड गेटबाट ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको हो।
अभियानको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक पर्चा टाँसेर शुभारम्भ गरेको हो।
कार्यक्रममा महाशाखाका प्रमुख जोशीले मुलुकमा कोरोनाको तेस्रो लहर तीव्रगतिमा बढिरहेको बेलामा सार्वजनिक यातायातबाट हुनसक्ने सङ्क्रमण रोक्नका लागि ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरिएको बताए।
शुरुको चरणमा १५ हजार सार्वजनिक सवारी साधनमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने महाशाखाले जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सिटौलाले तेस्रो चरणको कोरोना सङ्क्रमणका कारण यातायात मजदूर तथा यात्रुलाई थप क्षति नपुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए।
“अहिले राजधानीबाट शुरु गरेको यो अभियानलाई क्रमशः देशव्यापी लैजान्छौँ”, उनले भने। उनले देशभरका यातायात मजदूरलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत आग्रह गरेको छ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८ १६:२७