टेकेन्द्र बोहरा
बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–८ का वडा अध्यक्ष जयबहादुर मल्ल र वडा सचिब दत्तराम अवस्थीलाई कालोमुसो दलेको छ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव) निकट विद्यार्थीसंगठन अखिल (क्रान्तिकारी) ले वडा अध्यक्ष मल्ल र वडा सचिव अवस्थीलाई आईतवार कालोमुसो दलेको हो।
वडा अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीले वडामा लाखौ भ्रष्टाचार गरेको र काममा अनियमितता गरेको आरोपमा कालोमोसो लगाएको अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष कमल थापाले बताएका हुन्।
विज्ञप्तीमा भनिएको छ करीव १ करोड २७ लाख खानेपानीको योजना धारा निर्माणमा पानी सञ्चालन नगर्दै काम गर्ने मजदुरलाई ज्याला नदिएको, सडक वनाउँदा कमिशन दिनेलाई मात्र योजना उपभोक्ता समितिको अध्यक्ष्य बनाउने गरेको र अनावश्यक रुपमा दुई ठाँउवाट सडक कटिङ्गरी १० लाख रुपैयाँ वरावरको रकम हिनामिना गरेको, वडा कार्यालयबाट वर्षेनी कार्यालय ब्यवस्थापनको नाममा ३ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको, मृत्यु भएका बृद्ध नागरिकहरुको किर्ते कागज मिलाएर ४ वर्षदेखि लाखौ रुपैयाँ सामाजिक सुरक्षा भत्ता सचिव र वडा अध्यक्षले हिनामिना गरेको आरोप लगाएका छन्।
त्यस्तैगरी सेवाग्राहीहरुले सूचनाको हक अन्तरगत सूचना माग्दा नदिने उल्टै धम्काउने गरेको, वडा कार्यालयको सवारी साधनमा नामप्लेट बदली जाँड रक्सी ओसारपसार गरेको, पर्यटकिय स्थलको नाममा आफ्ना कुल पितरका मन्दिर मात्र वनाई रकम हिनामिना गरेकोले कालोमोसो दलेको जनाएको छ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८ १९:५४