जीवन घाम छायाँ हो, जिवनमा उचार चढाव धेरै आउँछन्, चुनौतीहरु पनि प्रसस्त आउँछन्। अवसर आउँदैमा जो कोहीले सफलता हासिल गर्न सक्छ भन्ने छैन। नेपालको राजधानी काठमाडौंमा जन्मिने मानिसहरु त्यसमा पनि महिलाहरुलाई सहज रुपमा काम गर्ने र अघि बढ्ने वातावरण छैन भने नेपालको दूरदराजमा पूर्व होस् वा पश्चिम प्रत्येक महलिालाई काम गर्न घरबाट बाहिर निस्किन कति गाह्रो होला ? हामी अनुमान पनि लगाउन सक्दैनौं।
नेपालको सुदूरपश्चिम डडेलधुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ निवासी तारा खाताीले आजभन्दा १८ वर्ष पहिले राजनीतिमा प्रवेश गरिन्। तब उनका सामु चुनौतिहरु प्रसस्त थिए। घरको चौघेरा पार गर्न नपाउने आम महिलाहरुको लागि उनी एउटा सशक्त उदाहरण त थिइन् नै। चुनौतिहरु पनि प्रसस्त थिए।
छोरी पढाउन हुन्न भन्ने विकसित भएको सामाजमा जन्मिएकी उनको पारिवारिक माहौल भने फरक थियो। उनका काका र बुवाको साथ र सहयोगले उनी बिद्यालय भर्ना भइन्। कुरा काट्नेहरु नभएका होइनन्, तर ती कुराहरुमा कहिले पनि वास्ता गरिनन्। उनको इच्छा एउटै थियो जसरी पनि पढ्छु र सबैभन्दा अब्बल बन्छु। सामान्य परिवारमा जन्मिएकी तारा, गाउँबाट पहिलो एसएलसि पास गर्ने छात्रा थिइन्।
त्यसपछि उनी तारा झै चम्किरहिन्। उनको खुशीको सिमा नै रहेन। त्यो पल सम्झिदा आज पनि उनको आँखामा आँशु आउँछ, त्यो खुशीको क्षण थियो। पहिलो फड्को त सफल भयो तर उनका सामु पहाड झैं समस्या र चुनौतीहरु प्रसस्त थिए।
एसएलसी पछि उनले भूसंरक्षणमा जागिर खाइन्। उनी आज पनि ती दिनहरु सम्झिदा भक्कानिएर रुन मन लाग्छ भन्छिन्। आफ्नो नाम पनि बताउँन नसक्ने लाज लाग्ने, कसैले केही भन्छ कि भन्ने डरले मनभित्रका कैयौं पिडा दबाएर राख्थिन्। जीवन त संघर्ष नै हो भन्छिन्। कामको खोजीमा भौतारिँदा कैयौं दिन भोकभोकै बस्नु परेको र कैयौं रातहरु अनिदो बस्नु परेको यादहरु आज पनि ताजै छ उनी भन्छिन्। जतिसुकै संघर्ष गरेपनि सफलता त एक दिन आफ्नै हातमा आउँछ भन्ने कुरामा उनी विश्वस्त थिइन्। धैर्य गर्नुपर्छ अवसरले एक दिन आफूलाई पछ्याउँछ उनी थप्छिन्।
जीवनमा एउटै चिज कमाएकोमा गौरवान्दित महसुस पनि गर्छिन्, त्यो हो इमान्दारिता। त्यही इमान्दारिताको कारण जुन ठाउँमा काम गरेपनि सबै साथीहरुले साथ र सहयोग गरेको स्मरण गर्छिन्। विवाह भयो र दुई सन्तानको आमा पनि बनिन्। हरेक सुख–दुःखमा आफ्नो श्रीमानको साथ र सहयोग हरदम पाएको बताउँछिन्।
समाज–सेवा गर्ने बाटो त अनेक छन्, आफ्ना रहर र इच्छा जब पूरा भयो तब महिला शक्ति विकास केन्द्र नेपालमा उनी आबद्ध भइन्। त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन भन्छिन् उनी। आफ्नो नाम भन्न पनि डराउने उनी आज जिल्लाका हरेक तालिमहरु दिने गर्छिन्। क्षेत्रिय संयोजकको भूमिकामा काम गरेको पनि १३/१४ वर्ष वितिसकेको स्मरण गर्छिन्। यदि यो संस्था नहुने हो भने आफूले कहिले पनि प्रगति गर्न नसक्ने र समाजका हरेक महिलाको लागि उदाहरण बन्न नसकिने बताउँछिन्।
क्षेत्रिय संयोजकको भूमिका निर्वाह गर्दै आएकी तारा खाती भन्छिन्, “यस संस्थाकी कार्यकारी निर्देशक कविता गुरुङप्रति सदासर्वदा कृतज्ञ रहेको र सदा सम्मान रहनेछ।”
प्रकाशित मिति: शनिबार, माघ १५, २०७८ १६:३६