ललितपुर। काठमाडौं उपत्यकाका आदिवासी व्राम्हणको रुपमा परिचित देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले कलाकार संजय शर्मा राजोपाध्यायको नेतृत्व पाएको छ । शनिबार सम्पन्न समाजको सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले कलाकार शर्मालाई समाजको नयाँ अध्यक्ष चयन गरेको हो।
तेश्रो अधिवेशनले निर्विरोध चयन गरेको नयाँ कार्य समितिको उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय रहेकी छन्। महासचिवमा सशक्त सञ्चारकर्मी बिराजकाजी राजोपाध्याय चयन भएका छन् । त्यसैगरी वन्दना सचिव, उद्धव आचार्य राजोपाध्याय कोषाध्यक्ष र चेतनादेवी शर्मा राजोपाध्याय सहकोषाध्यक्ष पदमा चयन भएका छन् । त्यस्तै १३ सदस्यीय कार्य समितिको सदस्यमा विजय शर्मा राजोपाध्याय, विरु सुवेदी राजोपाध्याय, सुजित राजोपाध्याय, श्रीमणी राज शर्मा राजोपाध्याय, रक्षण राजोपाध्याय, महेश बाबु शर्मा राजोपाध्याय तथा गिरिश शर्मा राजोपाध्याय रहेका छन्।
नव निर्वाचित अध्यक्ष संजय शर्माले समाजलाई एकतावद्ध बनाउँदै समाजको सर्वाङ्गिण विकासका लागी निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन्। अधिवेशन अघि उद्घाटन सत्रमा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले राजोपाध्याय शब्दले नै काठमाडौं उपत्यकाका नेवार समुदायको गुरु पुरोहितको रुपमा देव ब्राम्हणहरुको विशिष्ट पहिचान बोकेको भन्दै सबै देव ब्राम्हणले ब्राम्हणको अन्य थरसँगै राजोपाध्याय पनि लेख्नुपर्नेमा जोड दिएका छन्।
देव ब्राम्हण समाजभित्रका ब्राम्हणहरुले विगतमा शर्माको साथमा सुवेदी, रिमाल र आचार्य पनि लेख्ने गरेको पाइन्छ भने तत्कालीन समयमा राजाको गुरु पुरोहित भएको नाताले राजोपाध्याय पनि भन्ने गरिएको हो ।
त्यस्तै मानवअधिकारवादी नेताको साथमा भाषिक आन्दोलनका अगुवा समेत रहेका मल्ल के. सुन्दरले देव ब्राम्हण समाजसँग कुशल वाचन कला भएको उल्लेख गर्दै यहि कलालाई नै व्यावसायिकीकरण गर्दै आर्थिक उन्नतीतर्फ अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७ २३:४१