नेपाली समाज विविधायुक्त समाज हो। सन् २०१५ को विश्व बैङ्कको तथ्याङ्क अनुसार, नेपालको ग्रामीण जनसङ्ख्या कुल जनसङ्ख्याको ८१.३९ प्रतिशत रहेको छ। यो जनसंख्याको आयको प्रमुख स्रोत कृषि हो। यसर्थ पनि करिब ८० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा संलग्न छ र यो कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत हुन आउँछ।
यस तथ्याङ्कका आधारमा विश्लेषण गर्दा नेपालको कृषि प्रणाली व्यवसायीमुखी भन्दा पनि निर्वाहमुखी भएकाले उनीहरूसँग स्वास्थ्यमा खर्च गर्ने आर्थिक हैसियत कमजोर छ। यसर्थ, नेपालको स्वास्थ्य सेवा आम जनमुखी हुन सकिरहेको छैन। नेपाली समाजमा चरम वहिष्करणमा पारिएका विभिन्न वर्ग, जातजाति, क्षेत्र, लिङ्ग, समुदाय तथा समूह छन्।
विशेष गरी महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरू, लोपोन्मुख जातजाति तथा समुदाय राज्यको मूल प्रवाहबाट बाहिर छन्। फलस्वरूप उनीहरू राज्यद्वारा प्रदान गरिने हरेक प्रकारका सेवा सुविधाबाट वञ्चित छन्। सन् २०११ मा विश्व बैङ्क र विश्व स्वास्थ्य सङ्गठव्दारा संयुक्त रूपमा जारी गरिएको प्रतिवेदन अनुसार, विश्वको कुल जनसङ्ख्याको करिब १५ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ।
तीमध्ये करिब ८० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू हाम्रो जस्तो अति कम विकसित अथवा विकासोन्मुख राष्ट्रहरूमा रहेको पनि त्यस प्रतिवेदनमा उल्लेख छ। नेपालको पछिल्लो जनगणना (२०६८) अनुसार, नेपालको कूल जनसङ्ख्याको करिब २ प्रतिशत अर्थात १.९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। यस तथ्याङ्कको महत्वपूर्ण तथ्य भनेको माथि भनिए जस्तै अपाङ्गता भएका कूल जनसङ्ख्याको ८९.३२ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्छन्, १०.६८ प्रतिशत मात्रै शहरमा बसोबास गर्छन्। स्वास्थ्य सेवाको पहुँचको सन्दर्भमा भने दुवै (शहरी र ग्रामीण ) क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरू वहिष्करणमा पारिएका छन्।
नेपालको स्वास्थ्य सेवाको संरचनालाई संक्षेपमा उल्लेख गर्नुपर्दा यो स्वास्थ्य मन्त्रालय हुँदै स्वास्थ्य विभाग, सरकारी अपस्तालहरू, क्षेत्रीय अस्पताल, जिल्ला जनस्वास्थ कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्रहरू हुँदै ग्रामीण समुदायसम्म पुगेको छ । यसप्रकारको संरचनालाई अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सेवासँगको सवाललाई विश्लेषण गर्नुपर्दा सबैभन्दा पहिले अपाङ्गता भएका व्यक्तिहरूको प्रकारलाई विचरण गर्नु आवश्यक हुन्छ।
अपाङ्गताको प्रकृतिका आधारमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरू, दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू, सुनाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू, श्रवण–दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू, स्वर तथा बोलाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू र बहु–अपाङ्गता भएका व्यक्तिहरू भन्ने गरिन्छ।
अशक्तताका आधारमा पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता र सामान्य अपाङ्गता भएका व्यक्तिहरू गरी चार वर्गमा वर्गीकरण गरिएको छ। अपाङ्गताको प्रकृति र वर्गीकरणलाई उल्लेख गर्नुको प्रमुख आशय सबै अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता एउटै हुँदैन भन्ने हो।
अर्थात्, प्रत्येक अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सेवा सम्बन्धी आवश्यकता अरू अपाङ्गता भएका व्यक्तिसँग नितान्त फरक हुन्छ भन्ने हो। तर अफसोच ! हाम्रो विद्यमान स्वास्थ्य सेवा सम्बन्धीका नीति तथा कार्यक्रम अनि त्यसको कार्यान्वयन गर्ने निकायहरूले यसरी बुझेको पाइँदैन। जुन दुःखद कुरा हो। अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई सवैको एउटै प्रकारको समस्या हो भनेर एउटै बाँस्केटमा राख्नु र राख्ने गरिनु हुन्न। उनीहरुको अपाङ्गताको प्रकृतिलाई हेरेर संवन्धित निकायले सुनुवाइ गर्न र गराउन आवश्यक छ ।