काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएको छ।
ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर मन्त्री खतिवडाले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरेहेका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो।
सो अवसरमा मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे।
श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
अस्पतालमा उपचारार्थ जोशीलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८ १०:०५