कोरोनाको कहरमा सरकार कोरोना संक्रमणवाट बच्न र बचाउन भनेर लकडाउन गर्न कुनै कसर राख्न पछि परेका छैनन्। कसर वाँकी नराखेजस्तै नेपाली जनतालाई न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्न राहत सहयोग दिने कार्यमा भने चुकेकै छ । राहत सहयोग दिने कार्यलाई सरकारले दोश्रो फेजको लकडाउनमा त बालमतलव पनि गरेको पाइएन। बरु, नागरिक तथा व्यवसायीवाट कर उठाउन सरकार कम्मर कसेको देख्दा नेपाली जनता वाक्क दिक्क वनेका छन्।
लकडाउन मात्र गर्न जानेको सरकारले कुनै राहत सहयोग उपलव्ध नगराएको देख्दा सवै तीन छक्क अठार दंग खाएका छन्। भारत लगायतका अन्य मुलुकले लकडाउनमा भोटरकार्डवाट आधारभूत राहत सहयोग दिएर जनता पालिरहेको अवस्थामा नेपालमा सरकारले रोगले बचाउन भन्दै भोकले मार्ने कार्य गरिरहेको भन्ने आरोप लाग्न थालेको छ । सरकारले बालमतलव नगरेपछि नागरिक आफै जागरुक बनेर टुंडिखेल, पशुपति, गोगंबु लगायतका स्थानमा निःशुल्क भोजन कार्यक्रम गरेर ठूलो उदाहरण पेश गरिरहेका छन्। सरकार भने चुप लागेर बसेका छन् । जुन विडम्बना हो ।
अर्कोतर्फ, सरकार कामभन्दा बढी कुरा गर्नमै व्यस्त छ। अरू सबै नागरिक पनि सरकारका कामकुराको विरोध गर्न र कुरा काट्नमै रमाइरहेका छन् । यो विषम परिस्थितिमा कुरा मात्रै काटेर बस्नु कसैका लागि पनि उचित समय होइन। कोरोना संक्रमणको समय नियन्त्रण हुन कति लाग्छ केही थाहा छैन । मौजुदा उत्पादनले धेरै समयसम्म हामीलाई पुग्दैन । अहिले काम केही नगरेर बस्यौं भने पछि यसले झन् विकराल समस्या निम्त्याउँछ। त्यसैले सबैले बेलैमा सोचेर काम गर्नु जरुरी छ।
यो संकटको घडीमा कोरोनाको त्राससँग सुरक्षित तवरले बसेर उत्पादनमुखी काम गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रा जमिन बाँझा छन् । विदेश गएको हाम्रा नेपाली जनशक्ति अवसर मिल्नासाथ स्वदेश फिर्ता हुने समयको प्रतीक्षामा रहेका छन्। विप्रेषणले फस्टाएको हाम्रो घरेलु अर्थतन्त्र केही समयलाई डामाडोल हुने निश्चित छ। प्रकृतिले नै सिर्जना गरिएका समस्यासँग हामी सबै जुध्नुको अर्को उत्तम विकल्प छैन । संकटको समयमा सबैभन्दा पहिला आफू बाँच्नु अनि आफ्नालाई बचाउनु नै सबैभन्दा राम्रो सावधानी हो।
कोरोनाको त्रास समाप्त नहुने समयसम्म हामी पूर्णरूपमा घुमफिर गर्न सक्दैनौं । यो समयलाई अधिकतम रूपमा कृषिजन्य खेती गर्नमा अगाडि सरौं। निश्चितरूपमा सामाजिक दूरी कायम गरेर आआफ्ना खेतबारीमा काम गरौं । छिटो उत्पादन हुने खालका खेतीपाती लगाऔं। आफूलाई पुग्ने खाद्यान्न आफै उत्पादन गर्न सक्यौं भने हामी धेरै कुराबाट सुरक्षित बन्न सक्छौं।
भूमिको उत्पादन स्तरअनुसार कतै अनाज बाली, कतै तरकारी खेती गरौं। वर्षौंवर्ष काम नगरेर बाँझिएका हाम्रा भूमिमा पनि अहिले कतै बाँकी नराखेर खेती गर्न सुरु गरौं। यसो ग¥यौं भने एक त काम गरेपछि सबैको शरीर निरोगी बन्छ, फूर्तिलो हुन्छ भने अर्कातिर त्यसबाट उत्पादन हुने अनाज खाएर हाम्रो जीविकोपार्जन चल्छ । बढी भएको उत्पादन बेचेर आफूलाई चाहिने अन्य सामान किन्न सक्छौं।
आत्मबल बलियो भयो भने कोरोनालाई जित्न सकिन्छ। खेतबारी र करेसाबारीमा मन फुकाएर काम गर्दा परि श्रम गर्ने बानीको विकास हुन्छ। शरीर स्वस्थ हुन्छ । रोगप्रतिरोधी क्षमताको विकास हुन्छ। आफूले फलाएका खानेकुरा खाँदा झन् संकटको यो घडीमा आनन्द आउँछ। कसैको कुरा काटेर, कसैको विरोध गरेर केही फाइदा हुँदैन।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७ २१:२९