मुलुकलाई विकास र समृद्धिको बाटोमा डोर्याउने एउटा महत्वपूर्ण आधार राजनीति पनि हो। राजनीतिबाटै महिलाले सिंगो मुलुक हाक्न सक्छिन् अनि मुलुकलाई समृद्ध बनाउन पनि सक्छिन्। थुप्रै मुलुकका आर्थिक विकासका अनुभव र समय समयमा गरिएका विभिन्न अनुसन्धानले महिलाको सक्रिय सहभागिता विना आर्थिक तथा सामाजिक विकासको लक्ष्य हासिल हुन सक्दैन भन्ने प्रमाणित गरिसकेको छ ।
खुला विचार, फराकिलो सोच, महिलाहरु अब घरभित्र मात्र सिमित रहनु हुन्न खुलेरै बाहिर आउनु पर्छ, त्यसको लागि आफ्नो पूर्ण सहयोग रहने बताउँदै महिलालाई अघि बढ्न घर परिवारको पनि उत्तिकै साथ र सहयोग हुनुपर्ने डडेल्धुराको अजैमेरु गाउँपालिकाको उपाध्यक्ष कलावती भाँड बताउँछिन्।
उपाध्यक्ष भाँडले भनिन्, "त्यसो त भौगोलिक विकटता भएको गाउँपालिकामा विकास निर्माणका कामहरु प्रशस्त मात्रामा भएका छन्। निर्वाचन हुनुअघि जुन किसिमका प्रतिबद्धताहरु भएका थिए त्यस अनुरुप नै कामहरु भएका छन्। प्रत्येक वर्ष कामको वर्गिकरण गरेर कामहरु संचालन गर्दै आइरहेको जसमा आर्थिक विकासतर्फ कृषि र पशुपालन, भौतिक विकास तर्फ खानेपानी, सडक, सिंचाईं सामाजिक विकासतर्फ शिक्षा र स्वास्थ्यमा कामहरु गर्दै आएका छौं। भौगोलिक विकटताका कारण विकास हुन नसकेका कामहरु पनि हामी विस्तारै विकास गर्दै आएका छौं।"
"विगतमा धेरै वर्ष स्थानिय तह जनप्रतिनिधि विहिन थियो। अहिले स्थानिय जनताले आफ्नो अभिभावक पाएका छन्। विगतमा स्थानिय तहमा जनप्रतिनिधिहरु नहुँदा त्यतिखेर स्थानिय निकाय भन्ने गरिन्थ्यो, र त्यो स्थानिय निकायमा धेरै जनतासंग जोडिएका विकास निर्माणका कामहरु भन्दा अहिले स्थानिय तह जुन राज्यको पुर्नसंरचना भइसकेपछि निर्वाचनको समयमा जनतासंग जुन किसिमको वाचा गरेका थियौं, अब सिंहदरबारको अधिकार घरघरमा हुन्छ र स्थानिय तहमा विकास निर्माणका कामदेखि लिएर स्थानिय जनताहरुको सेवा सुविधा कुराहरुमा विकेन्द्रिकरण गरेर स्थानिय तहलाई बलियो बनाउनु पर्छ भनेर हामीले निर्वाचनको समयमा पनि भनेका थियौं र राज्यको पुर्नसंरचनाले पनि त्यो कुरालाई स्थापित गरेको यो वर्तमान समयमा स्थानिय तहको भूमिका धेरै रहेको छ।" उपाध्यक्ष भाँडले बताइन्। "तथापि स्थानिय तह ऐन अन्र्तगत जति धेरै जुन हिजोको दिनमा भने अनुसार जनताको लागि सेवा सुविधा पर्याप्त मात्रामा पुर्याउन नपुगेको अनुभव हामीले गरेका छौं। म के भन्न चाहन्छु भने स्थानिय तहलाई जति धेरै अधिकार सम्पन्न र मजबुत बनाउन सक्यौं भने स्थानिय तहमा नेपाली जनताले त्यति नै मात्रामा छिटो छरितो रुपमा सेवा सुविधा पाउन सक्छन्। त्यसकारण हिजोको दिनमा भन्दा आज स्थानिय तहमा काम गर्न सजिलो भएको छ।"
यद्यपि भौगोलिक विकटता भएको ठाउँमा सिपमुलक कार्यक्रम तथा आयमुलक कार्यक्रम सम्बन्धि तालिमहरु दिएर आत्म निर्भर बनाएको र कतिपय महिलाहरु राजनितिक रुपमा पनि अघि बढ्नु भएकोमा उनीँ यस कुरालाई सम्मान पनि गर्छिन्। जनचेतनामूलक कार्यक्रमहरु ल्याएर महिलालाई अगाडि बढ्न सहयोग गरेको जानकारी दिइन्।
"त्यसो त महिलालाई अगाडि बढ्न गाह्रो नै हुन्छ, अवसर पाउन पनि गाह्रो छ, अवसर पाए पनि विभिन्न खालका समस्याहरु आइपर्छन्। किनभने हामी महिलाहरु हिजो चौघेरामा सिमित थियौं, आज चौघेरा त नाघेको छौं तर पनि समस्याहरु प्रसस्त छन्। हामीले हाम्रो घर परिवार सबैलाई खुशी बनाएर बाहिर निस्किनु पर्ने हुन्छ।" उपाध्यक्ष भाँडले भनिन्, "यसको अर्थ यो होइन कि हामीलाई पुरुषले सहयोग गर्दैनन् भन्ने। मलाई पनि धेरै नै सहयोग प्राप्त भएको छ। परिवर्तनशील समयमा पाइला टेके पनि हामी अलि पुरानो संस्कारमा हुर्किएको हुनाले घरको काम पुरुषले गर्नु हुन्न भन्ने मान्यता छ। कतिपय अवस्थामा हामी महिला आफ्नै कारणले पनि पछाडि परेका छौं।"
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८ १६:४३