धनगढी । पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा मनाङ मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ।
बिहिबार धनगढी रंगशालामा उद्घाटन खेलमा मनाङले भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराएको हो। यो जितसँगै मनाङले सेमिफाइनलमा प्रवेश गरेको छ।
मनाङलाई जित दिलाउन अन्जन विष्ट र विमल रानाले एक एक गोल गरेका थिए भने दिल्लीका लागि कृष्णले १ गोल फर्काएका थिए।
खेलको ६९ औं मिनेटमा कृष्णले गोल गर्दै दिल्लीलाई शुरुआती अग्रता दिलाएका थिए। खेलको ७८ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ८० औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई २–१ को जित दिलाएका थिए।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८ २१:०५