काठमाडौं। कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीहरुको दोस्रो ठूलो महान पर्व तिहार अर्थात यमपञ्चक अन्तर्गत आज पहिलो दिन काग तिहार परेको छ। काग तिहारको दिन आज कागको पूजाआजा गरेर मिठामिठा खानेकुरा खुवाउने कार्य भएको छ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजै गरिएको छ। यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ। यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।
कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले वताएका छन्। गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ। आइतबार बिहान ११ बजेर २७ बजेसम्म औँशी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ।
मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ। बिहान ११ बजेर ३७ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ। भाइटीकाकै दिन यस वर्ष नेपाल संवत अनुसारको नयाँ वर्ष ११४१ मनाउनुपर्ने पनि समितिले जनाएको छ।
प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको समितिले जनाएको छ। यसै दिनदेखि नेपाल संवत् ११४१ नयाँ बर्ष सुरु हुन्छ। तिथि तथा पलाको कारण पर्वमा अलमलता देखिएको कारण मंसिर २ गते नेवार समुदायले किजापूजा अर्थात भाइटीका मनाउने निर्णय गरेको छ। सरकारले यसदिन किजापूजा मनाउन देशैभर सार्वजनिक विदा दिइएको छ।
प्रकाशन मिति–२०७७ साल कात्तिक २८ गते शुक्रवार ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७ ०९:०९