हरेक परिस्थितिसँग जुध्न सक्ने क्षमता जो कोही संग हुँदैन । पिडाका प्रकृति पनि फरक हुन्छन्। कसेैले सहन सक्छ त कसैलाई सहन मुस्किल हुन्छ । संघर्ष मात्र गरेर हुँदैन संघर्षमा भाग्यले पनि साथ दिनु पर्छ भन्ने सोच राख्छिन् काभ्रे धुलिखेल निवासी सृजना प्याकुरेल। जीवनमा उतार चढाव नआएका होइनन् । सहनै नसक्ने तनाव पनि नभएका होइनन्।
त्यस्ता तनावले आफूले आफ्नो जीवन समाप्त गर्ने सोच पनि आएको बताउँछिन् उनी। आखिर बाँच्नु त पर्ने नै रहेछ! भाग्यभन्दा धेरै र समयभन्दा बढी कसैले पनि केही नपाउने उनी भन्छिन् । समय नै सबै भन्दा ठूलो मल्हम भएको बताउँछिन् सामाजिक कार्यकर्ता प्याकुरेल ।
हरेक मानिसको जीवनमा एक पटक मात्र अवसर आउँछ। त्यही अवसरलाई समात्न सके सफलता आफ्नै हातमा हुने बताउँछिन्। नेपालीमा एउटा भनाइ नै छ जिन्दगीमा पढेर होइन परेर धेरै कुराको अनुभव लिन सकिन्छ। यही कुरालाई उनी आत्मसात् गर्दै अघि बढेको बताउँछिन्।
जीवनमा एकै पटक यस्तो खालको अवसर आयो, जुन अवसरले उनलाई नयाँ जीवन प्राप्त भयो भन्दा फरक नपर्ला। यसको सम्पूर्ण श्रेय उनी महिला शक्ति विकास केन्द्र नेपालकी कार्यकारी निर्देशक कविता गुरुङलाई दिन चाहन्छिन्। २०६६ सालमा महिला शक्ति विकास केन्द्र नेपालले त्इत् तालिम दिएपछि २०७५ सालसम्म कोर लिडरको रुपमा काम गरेको र त्यसपछि क्षेत्रिय संयोजकको रुपमा काम गर्दै आएको बताउँछिन् ।
संस्थाबाट विभिन्न किसिमका तालिमहरु लिएर आफ्नो समुदायका दिदी बहिनीहरुलाई सोही तालिमहरु संचालन गर्ने बताउँछिन्। समुह व्यवस्थापन तथा सुदृढिकिकरण तालिम, महिला पुरुष समविकास तालिम, नागरिक शिक्षा सुशासन तथा महिला अधिकार सम्बन्धि आधारभूत तालिमदेखि लिएर महिला हिंसा विरुद्धको सचेतनाको सम्बन्धि तालिमहरु सञ्चालन गरेको अनुभव सुनाउँछिन्।
संस्थामा आबद्ध भइसकेपछि विभिन्न कामहरु गरेको अनुभव सुनाउँदा उनी खुशीले भावविह्ल बनेकी थिइन् । उनले आफ्नो जीवनको १२ वर्ष यही संस्थामा बिताइसकेकी छिन् । कार्यकारी निर्दैशक गुरुङलाई आफ्नो आदर्श व्यक्तित्वको रुपमा लिन पाउँदा आफूलाई निकै भाग्यमानी सम्झिने प्याकुरेल उनै गुरुङको एक फोन कलले उनको जीवनमा आशाका थुप्रै किरणहरु ल्याइदिएको स्मरण गर्छिन्।
आफ्नो जीवनको भोगाईबाट थुप्रै कुरा सिक्न सकिने र आफ्नो कथा सुनाउँने हो भने पनि एउटा उपन्यास नै तयार हुने बताउँछिन्। यदि महिला शक्ति विकास केन्द्र नेपालमा आफू आबद्ध नभइदिएको भए आज सृर्जना प्याकुरेलको नाम निशान नै नरहने बताउँछिन्।
सामाजिक कार्यकर्ता प्याकुरेल भन्छिन् ‘आफूलाई जस्तो पिडा अरु कसैलाई पनि नपरोस्, आफू भन्दा अगाडि आफ्नो सन्तान गुमाउनुको पिडा कसैलाई पनि नपरोस्।‘ मानिस भएर जन्मिसकेपछि आफ्नो लागि मात्र नभएर पूरै समाजको लागि केही न केही काम गर्नु पर्ने रहेछ भन्ने शिक्षा पाएको बताउँछिन्।
जीवन नष्ट गर्ने त कायरले मात्र हो भन्छिन् उनी। समस्याहरु थु्रपै आए, उतार चढावहरु पनि आए, ती सबैलाई समाधान गर्दै आज यहाँसम्म आएको बताउँछिन्। महिला शक्ति विकास केन्द्र नेपाल त एउटा साझा चौतारी रहेछ, दुःख–सुख साटासाट गर्ने फूलवारी पनि रहेछ उनी थप्छिन्।
एउटा चुल्होमा मात्र सिमित म जस्तो महिला जसले मलाई जस्तै पिडा परेको छ भनेर कसरी थाहा पाउने ? आफूलाई परेको बज्रपात अरुलाई परेको छैन भन्ने सोच्ने म जस्तो महिला घर बाहिर निस्किएपछि थाहा पाए मेरो जस्तो पिडा अरुलाई पनि हुने रहेछ। त्यसकारण सबै महिला दिदी बहिनी जागरुक बन्न आवश्यक छ।
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८ १२:५५