काठमाडौं। विश्वमा आधुनिक प्रविधिको दिनानुदिन तिब्र विकासको युगको रुपमा अघि बढिरहेको छ। तिब्ररुपमा आधुनिकतातिर लम्किरहेको वर्तमान अवस्थामा मोबाइल फोन अत्यन्त महत्वपूर्ण पाटो नै बन्न थालेको छ। मानिसका लागि मोबाइल फोन एक साहारा तथा सहयोगी जस्तै बनिसकेको छ। जसलेगर्दा मोबाइल फोन अपरिहार्य बस्तु नै बनिसकेको छ ।
यो अवस्थामा अमेरिकी एक अध्ययनले पत्ता लगाएअनुसार मानिसको जीवनकालको नौं वर्ष मोबाइल फोन हेरेरै बित्ने देखिएको छ। मोबाइल फोनको तुलनात्मक विश्लेषण गर्ने वेबसाइट ह्विस्सलआउटले गरेको अध्ययनमा अमेरिकीहरूले औषतमा आफ्नो जीवनकालमा झण्डै नौ वर्ष मोबाइल फोन चलाएर बिताउने गरेको देखिएको छ ।
अध्ययन अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा जन्मिएका अमेरिकीहरूले मोबाइल फोनमा सबैभन्दा धेरै समय बिताउँदछन्। ती उमेर समूहका अमेरिकीहरूले दैनिक ३.७ घण्टा मोबाइल फोनमै बिताउने गरेको अध्ययनले देखाएको छ । जबकि १९४६ देखि १९६४ को बीचमा जन्मिएका अमेरिकीहरूले सबैभन्दा कम अर्थात् दैनिक औषतमा साढे २ घण्टा मोबाइल फोनमा बिताउँछन्।
मोबाइलफोनमा समय बिताउनेको संख्या दिनानुदिन बढिरहेको छ । यसले गर्दा मानिसको दैनिक जीवनमा निकै चुनौती थपिदिएको छ । यद्यपि, मानिसहरू यो समय घटाउने प्रयत्नमा भए पनि यो कठिन बनिरहेको छ । स्क्रिन टाइम कटौतीका बाबजुत मानिसहरूमा मोबाइलको लतमा वास्तविक कमी नआएको पाइएको छ । मोवाइल फोनका कारण घडी तथा क्यालेण्डर लगायतका बस्तुलाई पनि विस्थापित गर्न थालिसकेको छ।
मोवाइल फोन भएपछि समय हेर्न घडी तथा मिति हेर्न क्यालेण्डरको काम र हिसाव गर्न क्यालकुलेटरको काम पनि हुने गरेपछि यसको अझ महत्व र आवश्यकता देखिएको छ। यसलेगर्दा मोवाइलमा स्वभाविक रुपमा धेरैको समय वित्ने गरेको छ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७ ०९:५६