काठमाडौं । सतरञ्ज जित्ने प्रमुख आधार पावर, पद र पैसा हुन । यी तीन कुराले मानिसलाई महत्वाकांक्षी वनाउने गर्दछ। यही तीन कुरालाई इंगित गरेको विलकुलै व्यावसायिक पहिलो नेपाली वेबसिरिज नेपाली कथानक चलचित्र सतरञ्जको ट्रेलर सार्वजनिक भएको छ।
नेपाली चलचित्र उद्योगका ख्यातिप्राप्त फाइट निर्देशक एन.बी. महर्जनको निर्देशन तथा महर्जन टीमको निर्माण रहेको यस वेबसिरिज चलचित्रको संपूर्ण पोष्ट प्रोडक्सनका कार्य संपन्न भैसकेको छ । कोरोना कहरको कारण जारी लकडाउन खुलेपश्चात सामान्य स्थिति आउनासाथ रिलिज डेट कुरिरहेको वेबसिरिज सतरञ्ज व्यावसायिक चलचित्रको नयाँ स्वाद हुने निर्माण पक्षको दावी रहेको छ।
मौनता श्रेष्ठको बुलन्द लेखन रहेको यस चलचित्रमा सम्पदा बाँनिया, दिवस धिताल, सुशील पोखरेल, ध्रुव कोइराला, विशाल पहाडी, गोकुल सुवेदी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिंग्देल, सोनी बीसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जी लगायतका कलाकारहरुका साथमा विशेष भूमिका ख्यातिप्राप्त अभिनेत्री अनिता केसीको रहेको छ।
चरम जातिय विभेद विरुद्धको आगो कालीगण्डकीको सेरोफेरो
जातिय विभेदको चरम चुलीमा रहेको बेला पनि जातिय विभेद विरुद्ध टेलिचलचित्र बनेको थियो। त्यो आजको समयमा वनेको होइन । पच्चीस बर्षअगाडि बनेको हो । त्यो लामो भागको टेलिचलचित्रको नाम हो–कालीगण्डकीको सेरोफेरो।
सामाजिक परिवर्तनको परिचायक वनेको लामो भागको यही टेलिचलचित्र नेपाल टेलिभिजनले फेरि प्रसारण गर्ने भएको छ। नेपाल टेलिभिजन प्लसवाट यही भाद्र २१ गतेदेखि राति ९ः३० बजेवाट आइतवार, सोमवार, मंगलवार र बुधवार गरेर हप्ताको ४ दिन लगातार पूनःप्रसारण हुन थालेको नेपाल टेलिभिजनले जनाएको छ।
वि.सं. २०५५ सालमा नेपाल टेलिभिजनले यो टेलिश्रृङ्खला पहिलो पटक प्रसारण गरेको थियो। नेपाली समाजमा ब्याप्त छुवाछुत र जातीय विभेदमा आधारित पहिलो बहुचर्चित अनि बहुप्रशंसित टेलिशृङ्खला हो।
वि.सं.२०४० को दशकको कथानक पृष्ठाधार बोकेको “कालीगण्डकीको सेरोफेरो” ले म्याग्दी , पर्वत र पोखराको परिवेशमा अन्याय,उत्पिडन ,शोषण र दमन झेल्न बाध्य पारिएका दलित समुदायको कथा–ब्यथालाई यथार्थवादी शैलीमा अगाडि ल्याउने इमान्दार प्रयास गरेको छ।
यस टेलिश्रृंखलामा अभिनय गर्ने प्रमुख पात्र मध्येको एक पात्रमा अनिता केसीले अभिनय गरेकी छन्। अनिता केसीले उच्च खानदानको परिवारको छोरीको भूमिका गरेकी छन्। उच्च खानदानको कुलघरानामा जन्मेकी तथा हुर्केकी अनिता केसीले दलित रवि गिरीको भाइ भुषण पोखरेलसंग प्रेम गर्ने कथावस्तुवाट कालीगण्डकीको सेरोफेरो अगाडि बढेको छ।
जातिय चरम विभेदलाई यी दुई पात्रको प्रेम संवन्धले छताछुल्ल पार्ने कार्य भएको छ। जुन अत्यन्त मर्मस्पर्शी तथा हर्टमा टच हुने गरेको छ । हाल अमेरिकामा रहेका भावनाशील निर्देशक कृष्णमुरारी ढुंगेलले निर्देशन गरेको यो टेलिचलचित्रकी अभिनेत्री अनिता केसीले त्यो समय र यो समयमा धेरै फरक आइसकेको भएतापनि यो टेलिचलचित्र जातिय विभेद विरुद्ध आगो ओकल्ने सफल टेलिचलचित्र भएको टिप्पणी गरेकी छन् ।
अभिनेत्री केसी आफूले अभिनय गरेका चलचित्र तथा टेलिचलचित्रहरु मध्ये अत्यन्त मन परेको र चित्त बुझेको भूमिका गरेको टेलिचलचित्र कालीगण्डकीको सेरोफेरो पनि हो भनेकी छन ।
कालीगण्डकीको सेरोफेरोमा अनिता केसी, भूषण पोखरेल, रवि गिरी, गणेश मुनाल, खेम शर्मा, कोपिला थापा, गोपालराज मैनाली, शेरवहादुर लगायतका कलाकारहरुको अभिनय रहेको छ। नृत्य निर्देशन ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठले गरेका हुन्।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७ २१:४०