काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ।
युनाइटेड अरब इमिरेट्स (युएइ) को सारजाह क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेले। पौडेलले ५८ तथा शेखले ५३ रनको योगदान दिएका थिए।
त्यसैगरी करण केसीले २९, आशिफ शेखले १६, विनोद भण्डारीले ११, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान ८/८, ज्ञानेन्द्र मल्लले ४ तथा कुशल भुर्तेलले १ रन बनाए भने बलिङतर्फ पपुवा न्यूगिनीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले समान २/२ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको थियो। उसका लागि चाल्र्स अमिनीले ५९ रनको अर्धशतकीय पारी खेलेका थिए।
यस्तै टोनी उराले २७, लेगा सियकाले २५, चाद सोपरले ३५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाएका थिए भने बलिङतर्फ नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले १/१ विकेट लिएका थिए।
नेपालले दोस्रो खेल शुक्रबार युएइसँग खेल्नेछ। लिग दुईमा नेपालसहित सात देश सहभागी छन्। नेपाल ९ खेलमा ५ मा जित तथा ४ मा हारकासाथ १० अङ्कसहित छैटौँ स्थानमा छ। पपुवा न्युगिनी हालसम्म जितविहीन अवस्थामा छ।
उसले हालसम्म खेलेका १४ वटै खेलमा पराजय व्यहोरेको छ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८ २०:३६