काठमाडौ । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासङ्घ (नेकोस)ले नेपालको समग्र खेल क्षेत्रको विकास र समृद्धिका लागि आगामी स्थानीय तहको निर्वाचनमा ‘एक पालिका, एक रङ्गशाला, एक वडा एक खेल पूर्वाधार’ को अवधारणा घोषणापत्रमा समावेश गर्न पार्टीलाई आग्रह गरेको छ ।
महासङ्घका इञ्चार्ज एवं एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा र संयोजक कृष्ण बस्नेत (पर्शुराम)को अध्यक्षतमा सम्पन्न आयोजक कमिटीको विस्तारित बैठकले सो अनुरोध गर्ने विशेष प्रस्ताव पारित गरेको हो।
संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले मात्र खेलक्षेत्रलाई अन्तरराष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीका अधिकारको रक्षा गर्न सक्ने हुँदा विकासको गतिलाई नयाँ दिशा दिनका लागि नेपाल खेलकुद महासङ्घलाई गाउँगाउँसम्म पुर्याउने र खेलकुद गतिविधिलाई घरघरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकले महासङ्घको बैठक सञ्चालन कार्यविधि २०७८ पारित गरी लागूसमेत गरेको छ।
बैठकले ३३ सदस्यीय स्थायी कमिटी तथा ७७ सदस्यीय सचिवालय सदस्य अनुमोदन गर्नुका साथै प्रदेशका इन्चार्ज तथा सहइन्चार्ज, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज, महानगरका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ।
त्यस्तै, महासङ्घले फागुन २८ गते संयुक्त राष्ट्रिय भेलामार्फत गठन भएका मातहतका २७ वटा राष्ट्रिय खेलका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको महासङ्घका प्रचार विभाग प्रमुख उमेश केसीले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ २२:३२