काठमाडौ । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएको छ।
गायक सपुतले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेको हो।
सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’ का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको गायक सपुतले प्रष्टीकरण दिएको छ।
गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दैै उनले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताएको छ। “तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ”, सपुतले भनेको छ।
पीरमा प्रतीकात्मकरूपमा राखिएको दृश्य र पात्रले चित्रण गरेको विषयले सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नाका साथै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदिएको भन्दै गायक सपुतले आत्मालोचनासमेत गरेको छ।
“जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने, नियोजितरूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषय विषयान्तर भइरहने जस्तो भयो”, उनले भनेको छ, “त्यसैले कुनै दबाब÷प्रभावले नभएर प्राप्त प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकको सुझाव, लेखक, पत्रकार, समीक्षकको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन् गर्दै त्यो दृश्य सम्पादन गरेर नयाँ भिडियो ‘रि–अपलोड’ गरिएको छ।”
पीर प्रकरणबाट सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको उनको भनाइ छ। यद्यपि, सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने रु भन्ने बहस हुन जरुरी रहेको उनको मत छ।
कसैको आत्मसम्मान र सर्जकको इमान्दारितालाई मनन् गर्दै आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै गायक सपुतले नयाँ गीतका सन्दर्भमा थप राजनीतिकरण र अतिरञ्जित नगर्न अनुरोध गरेको छ।
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८ २०:५५