काठमाडौं। काठमाडौं महानगरपालिका आचार संहिता, कार्यविधि २०७७ र नेपाल भाषा प्रशिक्षण व्यवस्था सम्बन्धि कार्यबिधि २०७७ तर्जुका लागि सैद्धान्तिक सहमति दिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५३ औं कार्यपालिका बैठकले उक्त सहमति दिएको हो।
बैठकले मंसिर २९ गते मनाइने २६ औं महानगर दिवसका सीमित कार्यक्रम गर्न मेयर शाक्यको अध्यक्षतामा उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्य रहेको मूल समारोह समिति गठन गरेको छ। त्यस्तै, जनप्रतिनिधि सम्मानका लागि वडाध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा र कर्मचारी सम्मानका लागि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा ४–४ सदस्यीय समिति गठन गरेको छ। यसै गरी बाजा गुरु सम्मानका लागि सम्पदा तथा पर्यटन समितिलाई जिम्मेवारी दिइएको छ। विगत बर्ष झैं यस बर्ष पनि सुशासन पत्रकारिता पुरस्कार पनि प्रदान गरिने भएको छ।
बैठकले ककनी गाउँपालिकाको शिवालय माविका विद्यार्थीहरुलाई सवारी दुर्घटनाको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। विसं.२०७५ साल चैत्र १९ गते फोहोर बोकेर गएको निजी क्षेत्रको सवारी दुर्घटनामा मानवीय क्षति भएको थियो। बैठकले इञ्जिनियर कमलबाबु श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ। श्रेष्ठले स्वास्थ्य र घरायसीकारण देखाउँदै राजीनामा दिएका थिए।
बैठकमा मेयर शाक्यले कोविड १९ को परीक्षण गराउन महानगरले स्वाब कलेक्सनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको बताउँदै सरकारले जारी गरेका मापदण्ड र जोखिम आवश्यकताका आधारमा वडामा यसको परिचालन गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७ २०:५२