काठमाडौ । नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ।
पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हराएका हुन्। नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटिन पुग्यो।
पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४७ बल खेल्दै ९ चौका प्रहार गरे भने टोनी उराले ४३ रन बनाए।
त्यस्तै सेसे बाउले २५ रनको योगदान गरे भने नोरमान भानुअले १७, रिले हेकुरेले ६, चाड सोपरले २ तथा कप्तान असद भालाले एक रन बनाएका थिए।
बलिङतर्फ नेपालका लागि करण केसीले ह्याट्रिससहित ५ विकेट लिए भने अविनास बोहरा र सोमपाल कामीले २/२ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थिए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ३३ बल खेल्ने क्रममा तीन चौका र चार छक्का प्रहार गरेका थिए भने रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहमद आदिलले ३१, कुशल भुर्तेलले १७, आरिफ शेखले २ तथा करण केसीले एक रन बनाए ।
बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले तीन, राइली हेकुरेले दुई तथा नोर्मान आनुअ र नोसैना पोकनाले एक/एक विकेट लिएका थिए।
यो जीतसँगै नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ। नेपाल अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ।
सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब शनिबार मलेसियासँग खेल्नेछ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८ १७:३४