काठमाडौ । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ।
कैलालीको धनगढीमा आयोजित गोष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो।

गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो।
प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना, हिन्दू स्वयंसेवक संघ का जिल्ला संघचालक हिरा कँडेल र व्यवसायी तथा समाजसेवी गोपाल हमाल सहितको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रताप बुढाद्वारा राखिएको थियो भने कैलाश दाहालको कार्यक्रम संयोजकत्व भएको थियो।
स्वागत मन्तव्य दिदै प्रताप बुढाले समाजको हरेक क्षेत्रमा असल व्यक्तिको आवश्यकता रहेको जनाउँदै राम्रो चरित्र र धैर्य धारण गर्न सके मात्र परिवर्तन सम्भव हुने बताएएको थियो। व्यवसायी तथा समाजसेवी गोपाल हमाल ले धर्म बारे गलत प्रचार बढी भएको बारे चर्चा गर्दै हिन्दुहरूलाई संगठित हुनुपर्नेमा जोड दिएका थिए।

यसैगरि जिल्ला सञ्चालक हिरा कँडेलले समाजमा अझैपनि जातीय संकीर्णता कायम रहेको तथा धर्म बारे कुरा गर्दा आफू तल परिन्छ भन्ने गलत मानसिकता हावी रहेको चर्चा गरेका थिए।
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिनाले देउडा, गौरा जस्ता सास्कृतिक तथा धार्मिक पहिचान रहेको सुदूरपश्चिमले आफ्नो अखण्डता जोगाउन लागिपरेको जस्तै अहिले हिन्दुत्वका लागि लाग्नुपर्ने बेला आएको बताउँदै शासन व्यवस्था जुनसुकै भए पनि हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख गर्दै उनले संविधानमा नलेखे पनि पहिचान र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र रहेको दाबी समेत गरेका थिए।

प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली ले बाह्यप्रभाव र केही अज्ञानता वश नेपाल धर्म निरपेक्ष भएको तर्क प्रस्तुत गर्दै यसैकारण अनेकों गल्ती भइरहेको बताएका थिए।
विश्वमा ११८ इसाई, ५७ इस्लामिक र ९ वटा बुद्धिस्ट राष्ट्र भएपनि ११० करोड आबादी भएको हिन्दु राष्ट्र खोई भन्ने प्रश्न गर्दै उनले विन्ती र विद्रोह गर्न कसैले छेक्न नसक्ने दावीसमेत गरेका थिए।
समाजको विभिन्न क्षेत्रबाट सहभागी उक्त कार्यक्रमलाई आभार प्रकट गर्दै आमन्त्रित अतिथि तथा उपस्थित सबैलाई संयोजक कैलाश दाहाल धन्यवाद ज्ञापन गरेका थिए।
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८ १५:२१