मकवानपुर, हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजनामा हेटौँडाको हुप्राचौरमा आमसभा सम्पन्न भएको छ।
यसअघि नगरको विभिन्न भागबाट बाजागाजासहित जुलुस तथा मोटरसाइकल र्याली हुप्राचौर पुगी आमसभामा परिणत भएको थियो।
सो अवसरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामान्य आँखाले हेर्दा देशलाई केही भएको नदेखिएको तर देशको आर्थिक अवस्था कमजोर हुँदै गएको बताउँदै उनले भने, “विदेशी मुद्रा सञ्चय कम भएको छ, आयात वृद्धि भएर गएको छ, निर्यात कमजोर छ, बैंकमा लगानीयोग्य रकम जम्मा छैन, नेपाल पनि श्रीलङ्काको बाटोमा जान्छ कि भन्ने चिन्ता लागेको छ।”
अध्यक्ष लिङ्देनले नेपालको विकास सहीरूपमा गर्न एक मात्र विकल्प राप्रपा पार्टी भएको भन्दै आगामी स्थानीय तह, प्रदेश र संसद्को चुनावमा राप्रपा पार्टीलाई भोट दिन आग्रह गरे।
राप्रपाका महामन्त्रीद्वय राजेन्द्र गुरुङ तथा भुवन पाठकले अब देशको विकास गणतन्त्र र सङ्घीयताबाट सम्भव नभएको बताएका थिए।
यसैगरी राप्रपा नेत्री एवं केन्द्रीय सदस्य रेखा थापाले देशको राष्ट्रियता, स्वाधीनता, मौलिकता बचाउन र युवा एवं महिलाको सुनिश्चित भविष्यका लागि राप्रपा उपयुक्त पार्टी भएको बताए।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८ २२:३०