काठमाडौ । प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।
६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए औषधि खुवाउने कार्य सुरु गरिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेशका १४ जिल्लामा ६ महिनादेखि ५ वर्षमुनिका ४ लाख ५ हजार ७५५ बालवालिकाकालाई भिटाभिन ‘ए’ औषधि र एक वर्षदेखि ५ वर्ष मुनिका ३लाख ६१ हजार ९४७ बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
६ महिनादेखि २३ महिनासम्मका १ लाख ३१ हजार ६०५ बालबालिकालाई पोषक तत्व वितरण र ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई पोषण लेखाजोखा मापन गरिने उनले जानकारी दिएका हुन् ।
यसैगरी मोरङ जिल्लामा ६ महिनादेखि ५ वर्षमुनिका ८४ हजार २५ बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने जनस्वास्थ्य कार्यालय मोरङका निरीक्षक अपोलो भगतले जानकारी दिए । जिल्लाका १७ पालिकामा यसलाई अभियानकै रुपमा सञ्चालन गरिने बताइएको छ ।
जिल्लामा ७५० महिला स्वयसेविकाले पालिकाका वडावडामा रहेका केन्द्रमा बालवालिकालाई औषधि खुवाउने उनले जानकारी दिए ।
भिटामिन ‘ए’ खुवाउने कार्य नियमित राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रत्येक छ÷छ महिना गरिन्छ भने यस अघि गत कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९ १७:०९