काठमाडाै । २०२२/०२३ सालतिर आफूले रेडियो नेपालमा गीत गाउँदा यो २०७९ सालको कल्पनासम्म पनि गरेको थिईन।
जानी न जानी यो कलाक्षेत्रमा मेडिटेशन गरेको जस्तो गरी आँखा चिम्म्म्म्म्म गरेर यस्तरी लागियो कि आँखा खोलेर फर्केर हेर्दा त ओख्खोखोखो ७२ बर्ष बितीसके छ । आम्म्मामामामा कति छिटो ७२ / ७२ बर्ष बितेको हो यो ... ! ! !
मेरो बा ५३ बर्षको उमेरमा स्वर्गिय हुनु भएको थियो । ५३ बर्षको बा कस्तो बुढो बुढो लाग्थ्यो । अहिले आफू ७२ बर्ष भईयो भन्दा झन पठ्ठो नै लागिरहेको छ ।
कतै आफू जन्मेको साल सुन्नमा गडबड भएको पो हो कि त भनौं भने म हरिबंश जस्तो चिना हराएको मान्छे त हैन । मेरो चिनामा २००७ साल नै लेखिएको छ ।
माटोको जग्गा पैसाले किन्न सकिन्छ। तर मुटु भित्रको जग्गा पैसाले किन्न सकिन्न । "जब कला क्षेत्रमा कस्सेर लागियो त्यस बेलादेखि एउटा चाहना तथा उदेश्य थियो कि धेरै भन्दा धेरै नेपालीहरुको मन मनमा सके एक बिगाहा, नसके एक रोपनी, त्यो पनि नसके चार आना, त्यो पनि नसके एकै आना जत्ति मात्र भए पनि एक टुक्रा सानु जग्गा लिएर त्यो जग्गामा सदाका लागि जाडो महिनामा न्यानो र गर्मीको मौसममा सितल भईरहने एउटा सानु घर बनाएर बस्ने ईच्छा थियो ।"
"मेरो यो ७२ औं बर्षको जन्म दिनमा यति धेरै नेपाली दाजुभाई दिदीबहिनीहरुले मेरो सुस्वास्थ्य, दिर्घायू र सक्रियताको लागि अमृत वचनहरु ब्यक्त गरेर शुभकामनाहरु दिनु भएको देख्दा अलि अलि भए पनि मन भित्रको जग्गा प्राप्त भए झैं लागिरहेको छ ।"
"हजुरहरु निरोगी होस्, चीरायू होस्, सुख समृध्द होस् र सबैको जय होस् ।" उहि मदनकृष्ण श्रेष्ठ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९ २०:३९