–बिराजकाजी राजोपाध्याय
आजको दिनमा हेर्ने हो भने काठमाडौं उपत्यकाका प्राय सबै टोलठाउँको नाम परिवर्तन भइसकेको छ। पुराना मौलिक नामहरु कतै अपभ्रम्स भइ केही अंश कायम छ भने कतै त पुरै हराइसके । कतै नेताको नामले त कतै चर्चित रेस्टुरेन्ट आदिको नामले मौलिकता खाइदियो । कतै भने राज्यको सत्ताशक्तिले ईतिहास मेटाइदियो । कतै त कुनै एउटा जाती विशेषलाई उच्चारण गर्न गार्हो भएको भन्दै नाम फेरीयो ।
यस्ता थुप्रै सयौं उदाहरण काठमाडौंमा भेट्टाउन सकिन्छ । यसको पछिल्लो उदाहरण बनेको छ, हाल शंखधर उद्यानको नामले चर्चामा रहेको तिंख्यः, जसलाई शक्तिको आडमा बनाइएको थियो रत्नपार्क । शताब्दियौं वर्षको ईतिहास बोकेको तिंख्यःलाई हिजो रत्नपार्क बनाइएको थियो । अहिले काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूतिको नाम दिएर यसलाई शंखधर उद्यान बनाइँदा भने एक दल विशेष भनौं वा केही समूहहरुले यसविरुद्ध देशव्यापी आन्दोलन गर्नेसम्मका कुराहरु गर्दैछन् । रत्नपार्क यति दुखेको दललाई काठमाडौंका त्यत्रो नामहरु मासिँदा छुन पनि नछोएको रहेछ ।
हो, नाम फेरिनुहुन्न । कुनै स्थानको नाम भन्नाले त्यो मात्र नाम हुँदैन । त्यो नामले उक्त स्थान विशेषको ऐतिहासिक, साँस्कृतिक, सामाजिक महत्व बोकेको हुन्छ। काठमाडौंको अति व्यस्त व्यापारिक क्षेत्र वंगः, जसलाई आज ईन्द्रचोक बनाइयो । विगतमा यो स्थान विष्णुमति नदिको त्रिवेणीको रुपमा थियो । त्रिवेणीलाई नेपालभाषामा ह्वंगः भनिन्छ । ह्वंगः उच्चारणकै अपभ्रम्स भई कालान्तरमा वंगः बन्न गएको बताइन्छ । ह्वंगः वा वंगः नामले त्यहाँ मानव वस्ती विकास हुनु अघिको ईतिहास बताइरहेको छ भने पछि आएर यसलाई समाजले मुर्ति पूजाको थालनी गरिसकेपछि, मानव सभ्यता, मानव वस्ती पूर्ण रुपमा विका भइसकेपछिको ईन्द्रजात्रासँग जोडेर यसलाई ईन्द्रचोक बनाइयो ।
यस्तै अर्को उदाहरण माईतीघर बनेको छ । यो स्थानमा फिब्व नाम गरेकी देवी विराजमान छिन् । स्थानीय नेवारहरु यी देवीलाई फिब्व अजिमा भन्ने गर्छन् । यिनै फिब्व अजिमाको नामबाट यो स्थानको नाम पनि फिब्व रहनगयो । पछि सन् १९६६ अर्थात मात्र ५४ वर्ष अगाडि एउटा चलचित्र रिलिज भयो, माईतीघर । फिब्व टोलमा उक्त फिल्मको कार्यालय राखियो । त्यहाँ माइतीघर चलचित्रको ठुलो पोस्टरसहित कार्यालयको साइन बोर्ड राखियो । त्यही पोस्टरले फिब्वको अस्तित्व मेटिदियो र त्यो ठाउँको नाम बन्यो–माईतीघर ।
अचेल टुँडिखेल भनिन थालेको त्यो खुला चौरलाई हाल पनि स्थानीय नेवारहरु तिंख्यः भन्ने गर्छन् । यसको क्षेत्र विगतका दिनमा हालको शंखधर उद्यानदेखि दशरथ रङ्गशालासम्मै भएको बताइन्छ । यसले ओगटेको कुनै क्षेत्र दशरथ रङ्गशालामा परिणत भयो त, कुनै खुल्ला मञ्च, रत्नपार्क बन्यो । हाल कायम टुँडिखेलको आधा भाग पनि सेनाको नियन्त्रणमा छ । खैर, यो विषयको चर्चा हुँदै गर्ला । अहिले नामकै कुरा गरौं ।
विगतको तिंख्यः विभिन्न कालक्रममा खुम्चिने क्रममा यसको केही क्षेत्र पार्क बनाइयो । वि.सं. २०२१ सालमा निर्माण सम्पन्न गरेर रत्नपार्क शुरु गरियो । राजा महेन्द्रकी पत्नी रत्नराज्यलक्ष्मीको नामबाट रत्नपार्क नामाकरण गरिएपछि यसको ऐतिहासिक नाम तिंख्यः हरायो । तिंख्यः नामको अर्थको बारेमा विभिन्न पक्ष, विषयहरु जोडिएका छन् । यसको चर्चा पनि गर्दै गरौंला । तर यसको ऐतिहासिक नाम तिंख्यःले सय पचास वर्ष मात्र ईतिहास बोकेको होइन । सयौं, अझ भनौं हजार बढि वर्षको ईतिहास छ यसको । जबकि रत्नपार्कले मात्र ५६ वर्षको ईतिहास बोकेको छ । यस्तो अवस्थामा रत्नपार्कको नाम फेरीयो भनेर विरोध गर्नेहरुले तिंख्यःको अस्तित्वलाई बेवास्ता गरेको देखियो ।
सार्वजनिक सवारी साधनका सह चालकले रत्नपार्क, रत्नपार्क चिच्याएरै मात्र यो नाम जनजिब्रोमा झुन्डिएको हो । केही वर्षमा रत्नपार्क जनजिब्रोमा झुन्डिए झैं भोलि गएर फेरी शंखधर उद्यान वा शंखधर पार्क पनि चिनिनेछ । हिजो तिंख्यःको नाम मेटेर रत्नपार्क भन्दा केही गलत भएको थिएन भने आज रत्नपार्क भनिएको स्थानलाई राष्ट्रिय विभुतिको नामबाट नामाकरण गरिँदा के गलत भयो । शंखधरको योगदानको चर्चा गर्ने हो भने उनले देशको नामबाट संवतको शुरुवात गरे । संसारभरीमा देशको नामबाट नामाङ्कित सम्वत यही नेपाल सम्वत मात्रै हो ।
यो गौरव हामीलाई दिने शंखधरको नामबाट पार्कको नाम राखिन्छ भने त्यसले शंखधरको योगदानलाई पनि सबैको सामु ल्याउनेछ । रत्नपार्क नामले के कति महत्व बोेकेको छ त मात्र एक रानीको नामसँग जोडिएको बाहेक । अर्को पक्षलाई केलाउँ, रत्नपार्कले यो ठाउँको के कस्तो छवि बनाएको छ त ? यौनधन्दा हुने अखडाको रुपमा नाम लिनुपर्यो भने रत्नपार्कको नाम आउँछ । के अब यसमा काठमाडौंबासी वा नेपालीहरुले गौरव गर्ने कि देशको नामबाट नामाङ्कित विश्वको एउटै मात्र सम्वतको नाममा गौरव गर्ने ?
यहाँको मौलिक एवम् ऐतिहासिक नामहरु धमाधम मासिँदैछ । ख्येचायेपुखूलाई खिचापोखरी भनियो, पुखुद्यां न्यूरोड बन्यो, त्यस्तै भ्याःचाद्यःलाई भेडासिं, न्यतलाई नरदेवी, थाय्मरुलाई बाङ्गेमुढा, थँबहिलाई ठमेल, भुइजःसिलाई बुढानीलकण्ठ, ग्वललाई गौशाला, मन्दः फल्चालाई सो-हखुट्टे, प्यंगःथांलाई चारढुङ्गे, जनबहाःलाई मच्छिन्द्रबहाल, पाटनको नुगःलाई सुनधारा, तःबहाःलाई मच्छिन्द्रबहाल, ल्हुतिलाई बालाजु ।
यसरी मौलिक नाम मेटिएको, मेटाइएको थुप्रै उदाहरण छन् । सबै नाम लेख्नु थालेमा पानाका पाना भरिनेछ । स्थानीय भाषामा फेरीएको नाम परिवर्तन गरिँदा राष्ट्रियता लाग्दो रहेछ र यहाँको स्थानीय नेवारले मौलिक नाम नफेरौं भन्दा जातीयता लाग्छ । तर एक व्यक्तिको नामबाट राखिएको मात्र ५६ वर्ष पुरानो नाम फेरिँदा देशब्यापी आन्दोलन गर्ने कुरा साँच्चिकैमा हास्यास्पद छ ।
एउटा दल विशेषले आफ्नो राजनीतिक आस्था, वा एउटा परिवारको शासनप्रतिको भक्तिभाव प्रदर्शन गर्न खोज्दा जनताको भावनालाई पूर्ण रुपमा बेवास्ता नै गरिएको प्रमाणित भएको छ । भाषणको जनताको हक, अधिकारको हवाला दिने र व्यवहारमा जनताले, काठमाडौं उपत्यकाका स्थानीय वासी खुसी भइरहेको विषयलाई राजनीतिक रङ्ग दिएर, विरोध प्रदर्शन गर्ने एउटा बहाना बनाएर एउटा परिवारलाई फेरी पनि जनतालाई शासन गर्न दिन खोज्नु जायज होइन । राजनीति राज्यको लागि हो अथवा एउटा सिमीत समूहको स्वार्थ पुर्तिको लागि हो, त्यसको हिसाब जनतालाई हरेक दलले दिनैपर्छ ।
(नामी साप्ताहिकवाट साभार)