सिरहा । आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहा जिल्लाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने भएका छन् ।
ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र दर्ता नभएको जनाइएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारले आज मनोनय दर्ता गराउने कार्यसूचि बनाएका छन् ।
कांग्रेसले अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको टुङ्गो लगाइसकेको र आज उम्मेदवारी दर्ता गराउने कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिए।
एमालेले धरै तहको उम्मेदवार टुङ्गो लगाए पनि आइतबार उम्मेदवारी दर्ता गराएन् । सत्ता साझेदार दलको उम्मेदवारीपछि मात्र आफूहरुले उम्मेदवारी दर्ता गराउने योजनामा रहेको एमालेका नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रले पनि अझै पालिका प्रमुख तथा अध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाउन सकेका छैन । अधिकांश स्थानीय तहको उम्मेदवार टुङ्गो लागिसकेकाले आज उम्मेदवारी दिने माओवादीका नेता विश्वनाथ साहले जानकारी दिए।
जसपाको अवस्था पनि उस्तै छ । जसपाले पनि अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । यद्यपि जसपाका नेताहरुले अधिकांश स्थानीय तहको उम्मेवार टुङ्गो लगाइसकेको दाबी गरेका छन् ।
“करिब करिब सबै स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारको टुङ्गो लगाइसकेका छौँ”, जसपा प्रदेशका मुख्य सचिव यादवले भने, “धेरैले टिकट लिएर उम्मेदवारी दिन गइसक्नुभयो, बाँकी रहेका प्नि टिकट वितरण भइरहेको छ । आज उम्मेदवारीको तयारीमा जुटेका छौँ " उनको भनाइ थियो ।
यसैबीच उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार सिरहा नगरपालिकामा ४ जना वडाध्यक्षको उम्मेदवारी दर्ता भएको छ । ती मध्ये २ सिके राउत नेतृत्वको जनमत पार्टीका र २ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धनगढीमाई नगरपालिकामा नगरप्रमुखका लागि चार, उपप्रमुखका लागि एक र वडाअध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएको छ । लहान नगरप्रमुख पदका लागि २ र १ जनाले वडा अध्यक्ष पदमा उम्मेदवार दिएको छ।
सिरहाको बरियारपट्टीमा नगरप्रमुखमा एक, वडा अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्र्ता गराएको छ भने सुखीपुर नगरपालिकामा एक जनाले नगरप्रमुख पदमा र तीन जनाले वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नगप्रमुखका लागि दुई उप प्रमुखमा एक, वडा अध्यक्षका पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १०:४३