मीठा-मीठा गफ चल्ने
विम्व रोपेर कविता फल्ने
भूपिको गाउँ
प्यारो ठाउँ
बौरेर पुन: आउ
मेरो बाल्यकाल
न बाँचेको छु
न आउँछ काल
यस्तै छ साथी
मेरो हाल
ए ! बाल्यकाल !
कवि भूपि सङ्गै
क्रिकेटको ब्याट
र
बल बनेर फेरी आउ
पुन : निरस जीन्दगीमा छाउ
घुम्ने मेच माथि बसेको
अन्धो मान्छेलाई विर्साउ
ठूलाको मीठो बोली
आदर गर्थे सानाले मन खोली
स्मृतिमा सधै भाङ्
खाइ खेलेको होली
न आओस् झैं हुन्थ्यो भोलि
नदेखेको स्वर्गको
बयान कसरी गर्ने
र त मलाई सबैभन्दा
नारायणचौर नै मन पर्ने
न्वारनदेखिको बल निकालेर कुदेको
रिसले साथीसंगीसँग जुधेको
मित्रहरुको चित्र हृदयभरि
बस्दथे प्रतिक्षा गरि
कमिलाको ताँतीसरी
कवितै कविताको ठाउँ
खोज्न अब कहाँ जाउँ
ए ! मेरो स्वर्णिम बाल्यकाल !
तिमीलाई भेट्न मन लाग्यो
पुलकित भइरहने मन
धेरै टाढा भाग्यो
ए !नारायणचौर !
यत्रो ठूलो पृथ्वीमा
भेटिन्छन् धेरै ठाउँ
सम्झन मैले तिमीलाई नै
किन रोज्नु पर्थ्याे
सुन ! हराएको म पनि छु
तिमीमा नत्र गाउँ जस्तै बनेको
अहिलेको संसारमा
मैले आफैलाई किन खोज्नु पर्थ्याे
नारायणचौरका
विचलित मन भएका खगेन्द्रहरु
विदेशिएका सुशिल, सुरिद अनि सञ्जिव दाइहरु
हराएका योगेशहरु
र
दैवले मन पराएका
राजेन्द्र, राजेश र राकेशहरु
पोषाक झै मानसपटलमा लगाएर
सम्झेर तिनलाई नयनबाट बगाएर
अहिलेसम्म भेटिएका
साथीभाइ सबैलाई
हृदयबाट दिँदै सलामी
आउनु ल ! बाँचेमा
म मर्दा मलामी ...।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९ १८:०९