काठमाडौं । नेपाली चलचित्र क्षेत्रको गरिमामय २०७७ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेत्री मिथिला शर्मा तथा २०७८ सालको हरितारा चलचित्र पुरस्कार वरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ।
हरितारा चलचित्र पुरस्कार गुठीको निर्णय बमोजिम अभिनेत्री शर्मा तथा पत्रकार गिरीलाई हरितारा चलचित्र पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
विसं २०७७ सालको पुरस्कार चार दशक भन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हकहितका साथै नेपाली कला संस्कृती, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पुर्याउन महत्वपूर्ण योगदान दिदै आएकी अभिनेत्री मिथिला शर्मालाई हरितारा चलचित्र पुरस्कार २०७७ प्रदान गर्न लागिएको गुठीले जनाएको छ।
त्यस्तै, २०७८ सालको हरितारा चलचित्र पुरस्कार तीन दशकभन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला-संस्कृति, चलचित्र क्षेत्रको प्रवद्र्धन र पेशाकर्मीको उत्थानका लागि देश विदेशमा पुर्याउन योगदान दिएवापत पत्रकार बिदुर गिरीलाई प्रदान गर्न लागिएको पनि जनाएको छ।
पुरस्कारको थैली जनही नगद पच्चिस–पच्चिस हजार रहेको छ। हरितारा चलचित्र पुरस्कार नेपाली चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो।
विसं २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षयकोष खडा गरी स्थापना गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९ २१:११