काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका राजु अर्याललाई (एआइजी) दर्ज्यानी चिह्न प्रदान गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उनी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति भएको हो ।

महानिरीक्षक केसीले हल्चोकस्थित सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित समारोहमा पदोन्नति भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई हार्दिक बधाई दिँदै सङ्गठनमा रहेर सिर्जनशील, चेतनशील रहँदै सकारात्मक सोचकासाथ राष्ट्रको सुरक्षा र आमनागरिकको सेवा तथा साङ्गठनिक विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै सरकारले पदोन्नति गरेको बताएका हुन् ।

नेतृत्व तहमा रहेका सशस्त्र प्रहरी अधिकृतले निःस्वार्थ भावनाका साथ फौजी संस्कार र पद्धतिको पालना गर्दै नीति नियम, कार्यविधिलाई जीवन्त बनाउँदै मातहतका कर्मचारीलाई प्रेरणा मिल्ने गरी उदाहरणीय, भरपर्दो, रहर लाग्दो कार्य गर्ने निर्देशन पनि दिएका छन् ।
विसं २०५४ चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर भएको थियो ।
बढुवासँगै यही १८ गते महानिरीक्षक केसीले अनिवार्य अवकास पाउने भएकाले त्यसपछिको प्रहरी महानिरीक्षकमा उनका लागि ढोका खुला भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ २०:४५