काठमाडौ । नेपाल टेलिकमले यही वैशाख १९ गते (मे २ तारिख) मनाइने चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ २०७९ को अवसरमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (नेशनल आइसिटी डे अफर) उपलब्ध गराउने भएको छ ।
कम्पनीका ग्राहकहरूका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो ।
यो अफर वैशाख १८ देखि वैशाख २४ (मे १–७ तारिख)सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डाटा प्याक जम्मा ९८ मा खरिद गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन्।
त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपीएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ मा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसका अवसरमा ५० प्रतिशत छुटसहित जम्मा ४९ मा उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
त्यसका साथै २०० देखि ४९९ सयसम्मको एमपोस रिचार्ज गर्दा २ दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५०० सय तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने २ जिबी डाटा प्याक पनि उपलब्ध गराइएको प्रवक्ता अधिकारीको भनाइ छ ।
यस अफरबाट ग्राहकले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ ०८:१८