नयन टिलपिलाउथे
थोपा खस्न दिदैनथ्यौ
हाड छालाको
शरीर न हो
ऎया !! गर्दा
दुख्थ्यो
बढी तिमीलाई
दुखेको आभाष हुन
कहिल्यै दिदैनथ्यौ
अस्पष्ट थिए जिन्दगीका
केही धर्सोहरु
कोरेउ अनि रंग भरेउ
सजाउदै गएँ मैले पनि
पछ्याउँदै तिमीलाई
क्यानभास जस्तै गरि ।
यात्रा न हो जिन्दगी
संघर्ष कहिले
कहिले सम्झौता
सुख र सन्तुष्टीको निमित्त
थुप्रै उकाली ओराली गरियो
थकाइको महशुस नै गरिएन
दूध फाटेर रसबरी
दुख काटेर सुख ।
समय नदी जस्तै :
बगीरहेको छ
निरन्तर
उर्लिन्छ कहिलेकाही खहरेको भेलले
बदलिन्छ सेकेण्ड मै
हर चिज
हर परिस्थिति
र ती सँगै
मन पनि ।
धोती चोलोको जमानामा
पाइन्ट टि-सर्टको चाहना
स्कर्ट स्लिपेसको जमानामा
वान पिसको चाहना
चाहानाहरु बदलिरहन्छ
दोष न तिम्रो
दोष न मेरो
दोष न अरु कसैको
मन नै त हो कहिले सम्हालिन्छ
कहिले बदलिदिन्छ ।
मेरो सर्वस्व तिमीलाई सुम्पेर पनि तिमी रित्तै भयौ
तिमीलाई दिने जस्तो
अब केही छैन ।
समयको भेलले बदलिएको
अस्पष्ट आकृतिले प्रतिबिम्बित
गराएको प्रतिबिम्बले
ऎना पाओस्
यात्राको मध्यान्तर
मोडिएको गोरेटोले
अर्थपूर्ण यात्रा तय गरोस्
पुर्णतः स्पष्ट होस्
कतै काँडाले नघोचोस
बहावले नबगाओस्
समस्यासँगै समाधान होस्
क्षणिक नहोस् केही
सार्थक रहोस्
तिमीले चालेका पाइला
तिम्रा यात्रा सफल होस्
मेरो बन्न नसकेको
तिमीलाई धेरै धेरै शुभकामना ।
-अर्पणा केसी
प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९ १५:४९