काठमाडौ । झापाका उमेश राईले १६औं धर्मश्रीको खिताव जितेका छन् ।
एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी जितेका हुन्।
राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गरे भने धिमालले उपबिजेता भए बापत नगद ५ लाख हात पारेका छन्।
त्यस्तै तृतीय स्थानमा ७५ केजीका मसल्स एण्ड फिटनेश, नयाँबजारका कृष्ण बहादुर सूर्यबंशी तथा चौथौ स्थानमा ६५ केजीका प्लानेट फिटनेश ईटहरीका पुष्प शंकर र पाँचौ स्थानमा कृष्ण बहादुर सूर्यबंशी रहेका छन्।
नेपालमा ब्यायामको क्षेत्रको माउ सस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राई ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधीको ओभर अल राउण्डमा प्रवेश गरेका थिए।
यस्तै धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए भने तेश्रो स्थानमा ७० केजीका बिलिजेण्ड शेप फिटनेश, खुसिवुका सन्जम सागर शाक्य धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए।
त्यही क्रममा चौथो स्थानमा बिलिजेण्ड शेप फिटनेश, खुसिवुका सन्जम सागर शाक्यले ७० केजी तौल समूहका नगद १ लाख ५० हजार प्राप्त गरेका छन्।
पाँचौ स्थानमा प्लानेट फिटनेश ईटहरीका पुष्प शंकर रहे भने उनले ६५ केजी तौलका उनले नगद १ लाख प्राप्त गरेका छन्।
छैठौ स्थानमा आयोजक नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी रहेका छन् उनले ६० केजी तौलका नगद ९० हजार प्राप्त गरेका छन् र अन्तिम तथा सातौं स्थानमा आयोजक संस्थाकै राजु राई रहेले ५५ केजी तौल समूहका नगद ८० हजार प्राप्त गरेका छन्।
बिजयी खेलाडीहरुलाई सम्माननिय उप–राष्ट्रपति नन्द किशोर पुनले पुरस्कार वितरण गरेका थिए।
तौल समूह अन्तर्गत भएको प्रतिस्पर्धामा ५५ केजी तौलमा जिम एक्स नयाँ बजारका उमेश डङ्गोल दोश्रो र हेल्थ बेनिफिटनेश, नेपालगंजका सिद्धान्त जसरोटिया तेश्रो भएका थिए।
त्यस्तै ६० केजीमा युनिभर्सल फिजिकल फिट, भक्तपुरका किशन दास दिवाकर दोश्रो, रत्नश्री, पोखराका सुरेश लामा तेश्रो, ६५ केजीमा आयोजकका आशिष देवाजु दोश्रो र यारो फिटनेश, मोरङ्गका मोनोज सुवेदी तेश्रो भए भने ७० केजीमा द वर्कआउट स्टेशन, नयाँबजारका अशोक महर्जन दोश्रो र रुपन्देही फिटनेश टाईमभका कृष्ण प्रसाद श्रेष्ठ तेश्रो भएका छन्।
त्यस्तै, ७५ केजी तौलमा बिलिजेण्ड शेप फिटनेश, खुसिबुका प्रवेश श्रेष्ठ दोश्रो र आयोजकका आदित्य ठाकुर तेश्रो भए भने ८० केजीमा प्याराडईज फिटनेश सेन्टर, कलंकीका बिवेक सिंह धामी दोश्रो र प्लाटिनियम फिजिक फिटनेश, बानेश्वरका हरि थापा तेश्रो भएका छन्।
८० केजी माथिको तौलमा आयोजकका ग्रिस महर्जन दोश्रो र गोर्खाली फिटनेश, न्यूरोडका अरुण कुमार प्रधान तेश्रो भएका छन्। दोश्रो हुने खेलाडीले नगद ४० हजार र तेश्रो हुने खेलाडीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।
आश्वत र जासमिन फिजिक तर्फ बिजयी
१६औं धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुषतर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिलातर्फ द फिटनेश टेम्पल, भक्तपुरकी जासमिन लामा बिजयी भएका छन्।
बिजयी खेलाडीहरुले नगद २ लाख सहित मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गरेका छन्। पुरुषतर्फ १०१ बेष्ट फिटनेश, पोखराका सुमन श्रेष्ठ दोश्रो र आईरन प्याराडाईज फिटनेश एण्ड स्पा, काठमाण्डौका ज्ञानेश्वर चौधरी तेश्रो भए।
यस्तै महिलातर्फ डिभाईन फिजिक फिटनेश, काठमाण्डौकी लुना श्रेष्ठ दोश्रो र मसल एण्ड फिटनेश, काठमाण्डौकी नमानी गुरुङ्ग तेश्रो भएका छन्।
दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद १ लाख र ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।
बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल लगायतले पुरस्कार वितरण गरेका थिए।