बेलायत लगायतका पश्चिमा मुलुकहरुमा कोरोनाभाइरसको नयाँ संक्रमण देखिएको छ। जसवाट विश्वमा कोरोना महामारीको नयाँ त्रास थपिएको छ। गम्भीर समस्या ननिम्त्याउने कोरोना भाइरसको नयाँ संस्करण पत्ता लागपछि अर्को त्रास थपिएको हो।
कोरोनाको पुरानै पीडा निको नहुंदै अर्को नयाँ संस्करणले गर्दा बेलायत लगायतका विभिन्न मुलुकमा लकडाउन अझ कडा बनेको छ। नेपाल भने, निस्फिक्री बनेको छ। नेपाल र नेपालीले कोरोनालाई बेमतलब नै गरेको अवस्था रहेको छ। नेपालका प्राय स्थानमा स्वास्थ्य मापदण्डका सामान्य नियम पनि पालना गरेको पाइएको छैन्।
दुई मिटरको दूरीलाई कायम गर्नुको सट्टा पुरानै शैलीमा सार्वजनिक स्थान तथा सवारीहरुमा भीडम भीड गरेर हिंड्ने पुरानै लयमा फर्केको छ। मास्क पनि कतिपयले लाउन छाडेको अवस्था छ। सावुन पानीले हात धुने कार्यलाई पनि बेवास्ता गरेको अवस्था छ। सरकारले पनि कही कतै कडा गरेको पाइएको छैन्। सरकारले बेमतलव नगरेपनि नेपाली जनता आफै सचेत हुनुपर्नेमा भएको पाइएको छैन्।
नेपालले कोरोना जितेको जस्तो गरेर जताततै उत्सव मनाएको जस्तो शैलीमा भीडभाड देखिएको छ। विश्वलाई नै चकित बनाएर नेपालीहरुले कोरोना जितेको जस्तो गरेर भीडभाड गरेर हिंड्नु ज्यादै घातक हुन्छ भनेर थाहा पाएर पनि थाहा नपाएको जस्तो गर्न थालेको छ। जनचेतनाको अभाव नभएर बेवास्ता नै गर्न थालेको यो यथार्थता हो। यो यथार्थताले नेपालमा विकराल मोड नआउंला भन्न सकिदैन।
नेपाली राजनीतिमा आएको विखण्डन र विघटनको मोडले नेपाल सही ट्राकमा नहिंडेको प्रतित भएको छ। लगाम लाउने निकाय नै बेलगाम जस्तो दौडमा पुगेपछि विचलनको स्थितिमा नेपाल पुगेको महशुश गरिदैछ।
जसको कारण बेलायत लगायत कैयन देशमा कोरोना महामारीको नयाँ संस्करणले आक्रान्त बनिरहेको अवस्थामा नेपाल र नेपालीले सचेतना नअपनाउनु दुःखद स्थिति हो। यसले निक्कै नै भयावह स्थिति सिर्जना गराउने हो कि भन्ने आशंका छ। तसर्थ, हामी नेपाली आफै सचेत बनेर बच्न र बचाउन आवश्यक छ।
(नामी साप्ताहिकको सम्पादकीय)
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७ २०:०६