भक्तपुर । मध्यपुर थिमी नगरपालिका भक्तपुरको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले विजयी प्राप्त गरेको छ।
मेयर पदमा निर्वाचित श्रेष्ठले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतान्तरले पराजित गरेकाे हो।
मतगणनाको अन्तिम नतिजा अनुसार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मदन सुन्दर श्रेष्ठले ११ हजार ३५ मत र नेपाल मजदुर किसान पार्टीका आशाहरि प्रजापतिले २ हजार २५ मत पाएका थिए।
मध्यपुर थिमीको उप मेयरमा भने नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी बनेका छन्। उनले १२ हजार १ सय २ मत पाएका छन्।
त्यसैगरी नेकपा एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत पाएकी छन् भने नेपाल मजदुर किसान पार्टीकी दीक्षा बाडेले २ हजार ७२२ मत प्राप्त गरेकी थिइन् । यस नगरपालिकामा कांग्रेसले र माओवादी केन्द्रसँग तालमेल रहेको थियो।
मध्यपुर थिमी नगरपालिका ९ वटा वडामध्ये ६ वटाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने २ वटा वडामा नेकपा एमाले र १ वडामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ ०७:३८