काठमाडौ । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले औपचारिक कार्यक्रमको आयोजना गरी १ हजार २९६ म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गर्दै साथै उनले सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्नेसमेत विश्वास दिलाएका थिए।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको धारणा राखेका थिए।
म्यादी प्रहरी बिदाइ कार्यक्रममा प्रशिक्षक, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई जिल्ला प्रशासन कार्यालयले प्रसंशापत्र समेत प्रदान गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको छ। पहिलो किस्तामा ४० दिनको रासन भत्ताबापत ४ हजार २ सय, भ्रमण भत्ता १ हजार २ सय र पोशाक भत्ताबापतको ६ हजार बैंक खातामार्फत भुक्तानी भइसकेको छ भने दोस्रो किस्ता ३२ हजार ४ सय कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको जनाइएको छ।
म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ । बिदाइ कार्यक्रममा जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ २०:१३