काठमाडौ । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले (डिआइजी) पौडेललाई एआइजीमा बढुवा गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहका बीच उनलाई आजै पदको दर्ज्यानी चिह्नसमेत प्रदान गरिएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पौडेललाई उल्लेखित दर्जाको दज्र्यानी चिह्नबाट शुशोभित गरेको हो।
समारोहमा महानिरीक्षक अर्यालले आफ्नो जिम्मेवारीका क्षेत्रमा प्रदर्शन गरेको कार्यक्षमता, साङ्गठनिक विकासमा पुर्याएको योगदान तथा सेवाप्रतिको निष्ठा आदिको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नति गरेको बताएका छन्।
फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि राष्ट्रसेवक सशस्त्र प्रहरीको वृहत्तर हितका लागि निर्णय गरी केही सुधारका कार्यहरु सुरुआत गरी सकिएको उल्लेख गर्दै अधिकृत तहका कर्मचारीले जिम्मेवारी निर्वाहको क्रममा मातहतकालाई कुशल नेतृत्व र उच्च हौसला प्रदान गर्न, राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा लाग्न त्यसैअवसरमा सकल दर्जालाई महानिरीक्षक अर्यालले निर्देशन दिएका छन् ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरू सबै समान रहेको उल्लेख गर्दै फौजी संस्कार निर्माण गरी आवश्यकता अनुरुपको नीति नियम तर्जुमा गर्दै सामूहिक नेतृत्व र सामूहिक निर्णयका साथ सङ्गठनलाई अगाडि बढाइने स्पष्ट पारेका थिए।
फौजी संस्कारको बर्खिलाप र गैरव्यावसायिक क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्तालाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिँदै उनले दर्जाको सरुवा तथा बढुवालाई वैज्ञानिक, पारदर्शी र अनुमान योग्य बनाइने उल्लेख गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ २०:५८