सामीप्यता र रङहरु
दुबै रसमय हुँदै
बहसहरुबीच बन्दी
बनेका कैदीहरु झैं
दर्शनको बान्की मिलाउँदा
दार्शनिक कसैको
प्रवक्ता भई
अलमलिएको समाज
द्वन्द्वको परिणाम
कुरी बसेका
विभिन्न अनुहारका मानिस
विभिन्न मानिसका अनुहार
दुबै मेरा लागि
अनौठो प्राणी झै भएकोले
समथर जमीनले
आज सगरमाथालाई विर्सीएर
उचाइको महत्व नबुझि
छताछुल्ल भएका
जीवन बोकी
पोखिएकाहरु
स्वयम्भूको बुद्धलाई
पनि
आफूसँग समेट्दा समेट्दै
हराएका शितल दृष्यहरु
दया, माया र करुणा
विना बाँचेका
तस्वीर झैं
म, तिमी अनि सबै
बुद्धको चक्षुहरुमाझबाट
कहाँ भाग्यौं
भेट्टाउँनै नसकिने गरी
हाम्रै वरिपरि
गाडिएका लास सरी
बुद्धको अपमान
झेल्न नसकि
औंसीलाई पेल्न नसकि
बुद्धलाई नै हेर्न
उदाएको सूर्य झै
आज अध्यारोमा रमाएर
मान्छे आफैलाई देख्दैन
पहिचानको लडाइँमा
रणभूमि पहिल्याउँन नसकेर
यत्र, तत्र सर्वत्र ढलेको छ
र त
कंक्रिटको सहर
आज जलेको छ
आगो विहिन बलेका
मानिसहरुको मन
खरानी हुँदा
जीवन रुन्छ
तर
आँशु झर्दैन
किनकि
उज्यालो पर्खेर बसेको नयन
कहिल्यै मर्दैन
बुद्ध झैं ।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९ १६:१७