चितवन । भरतपुर महानगरपालिका चितवनको मेयर पदमा दोस्रो कार्यकालका लागि नेकपा माओवादी केन्द्रकी रेणु दाहालको विजय शुनिश्चित भइसकेको छ ।
प्राप्त मत परिणाम अनुसार रेणुले ५१ हजार १ सय १२ मत प्राप्त गरिसकेकी छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९ सय ७२ मत मात्त प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीचको मतान्तर १२ हजार १ सय ४० रहेको छ।
अब केही मत संख्या मात्र गन्न बाँकी रहेको छ भने गन्न बाँकी रहेको मतभन्दा बढी रेणुले अग्रता लिएको मतान्तर धेरै भएपछि भरतपुरकाे मेयर पदमा रेणुकाे विजय सुनिश्चित भएको हो ।
भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु दाहाल र नेकपा एमालेका नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो ।
सत्ता गठबन्धनको साझा उम्मेदवार रेणु दाहाल विरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका पौडेलले १४ हजार ७ सय २७ मत प्राप्त गरेका छन् ।
उप-मेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । अधिकारीले ५१ हजार ९ सय ३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३ सय २६ मत पाएकी छन् ।
नेकपा माओवादी केन्द्रकी रेणु दाहाल २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेर मेयर पदमा निर्वाचित भएकी थिइन्।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ ०८:२७