काठमाडौ । राजधानी काठमाडाैकै मुटु मानिने प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ।
काठमाडौँ महानगरपालिका-२६ का नव निर्वाचित वडा अध्यक्ष ख्यामराज तिवारीले पदभार ग्रहण गर्दै उक्त क्षेत्रलाई व्यवस्थित र नमूना क्षेत्र बनाउने बताएको हो।
“ठमेल घुम्न आएका विदेशी पर्यटकलाई नयाँ बसपार्क घुम्न जाने वातावरण निर्माणमा वडा लाग्नेछ”, नव निर्वाचित वडा अध्यक्ष तिवारीले भने।

दोस्रो पटक पुनः वडा अध्यक्ष पदमा निर्वाचित भएका तिवारीले आफ्नो पहिलो कार्यकालमा ऐन, नीति, नियम निर्माण र वडा कार्यालयको भवन निर्माणमा बितेको भन्दै आगामी कार्यकालमा वडाभित्रका समस्या समाधानमा काम गर्ने बताएका हुन्।
अघिल्लो कार्यकालमा वडा कार्यालय भवन निर्माण, लैनचौर खेल मैदान निर्माण, मल्ल होटलदेखि ठमेल क्षेत्रको बाटो चौडाइ, भगवानबहाल मन्दिर पुनःनिर्माण, ठमेलेश्वर महादेव मन्दिरको भजन घर निर्माण, लैनचौरस्थित नारायण मन्दिर निर्माण, शान्ति विद्या गृह स्कुलको भवन पुनःनिर्माण र विभिन्न बाटोहरु कालोपत्र गरेको उनको भनाइ छ।
मेलम्ची खानेपानी आयोजनाको काम र विद्युत् प्राधिकरणको कामले गर्दा कतिपय बाटाहरू कालोपत्र रोकिएको भन्दै यसलाई समेत चाँडो सम्पन्न गरिने वडाअध्यक्ष तिवारीले बताए।
वडा अध्यक्ष तिवारीसँगै वडा सदस्य बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ, शान्ता प्रजापति महर्जन र रुपा नेपालीले पनि वडा कार्यालय पुगेर आफ्नो पदभार ग्रहण गरिसकेका छन्।
पदभार ग्रहणकै अवसरमा नेपाल महिला एकता समाजले वडाअध्यक्ष तिवारीलगायत सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिलाई भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भेटमा समाज काठमाडौँकी अध्यक्ष मणि लामाले सुरक्षित बसोबास, सुनिश्चित अधिकार र हिंसामुक्त समाज निर्माणका लागि वडाको ठूलो भूमिका रहेको बताउँदै उनले महिला अधिकारका लागि काम गर्न समेत वडालाई आग्रह गरेका छन्।
विसं २०५७ मा स्थापना भएको नेपाल महिला एकता समाजले महिला हक, हित र अधिकारका लागि काम गर्दै आइरहेको लामाको भनाइ छ।
काठमाडौँ महानगरपालिका-२६ मा ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुसी, म्हैपी, नयाँ बसपार्क, गोँगबु, टाउन प्लानिङ, रानीबारीलगायत क्षेत्रहरू पर्दछन्।