काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ।
नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ।
नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते हुनेछ ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग असार २९ गते खेल्नेछ भने नामिबियाविरुद्धको तेस्रो खेलमा नेपालले असार ३२ गते खेल्नेछ।
त्यस्तै चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग आगामी साउन १ गते खेल्नेछ। लिग दुईकै सिरिजअन्तर्गत नेपाली क्रिकेट टोली अहिले अमेरिका भ्रमणमा रहेको छ।
अमेरिका र ओमनसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको हो। उक्त सिरिज यही जेठ २५ गतेदेखि असार ५ गतेसम्म चल्नेछ ।
लिग दुईको अंक तालिकामा नेपाल छैठौ स्थानमा रहेको छ ।
नेपालले अहिलेसम्म १२ खेल खेल्दा ६ खेलमा जित तथा ६ खेलमा हार व्योहोरेको छ भने अंक तालिकाको शीर्ष स्थानमा ओमन रहेको छ।
त्यसैगरी दोस्रो स्थानमा स्कटल्यान्ड रहेको छ भने तेस्रोमा संयुक्त अरब इमिरेट्स (युएई), चौथोमा अमेरिका र पाँचौ स्थानमा नामिबिया रहेको छ। पपुवा न्यूगिनी सातौ स्थानमा छ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ २२:५७