काठमाडौ । आइसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको छ।
मलेसियाको यूकेएम ओभलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटिएको हो ।
कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडेका थिए।
कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सृष्टि जैशीले तीन विकेट लिएकी थिइन भने अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिएका थिए।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएका थिए। नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहँदै ३२ रन बनाए भने सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ तथा अन्जली विश्वकर्माले ११ रन जोडे । किरणकुमारी कुँवरले १ रन मात्र बनाएकी थिइन् ।
बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले १/१ विकेट लिएका थिए।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतार छन्। अब नेपालले दोस्रो खेल युएईविरुद्ध शनिबार खेल्नेछ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९ ११:५६