चितवन । चितवन जिल्लाको खैरहनीमा नयाँ प्रजातिको चरा भेटिएको छ ।
नेपाल पंक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका-११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो ।
वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले ६ दिनघि सो चराको तस्वीर लिएको थियो। नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो।
बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन्।
यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन्।
यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ १०:०७