हरेक मानिससँग विभिन्न किसिमका प्रतिभा हुन्छन् । कसैले आफ्नो प्रतिभा चिन्छन्, कसैले चिन्न सक्दैनन्। चिनेर अगाडि बढियो भने जिवनमा कहिले पनि पछि पर्नु पर्दैन । यसको अर्थ यो होइन कि प्रतिभा नचिन्ने मानिसले प्रगति गर्न सक्दैन।
"निरन्तर काममा लागिरहनु पर्छ, सफलता आफ्नै मुठ्ठीमा आउँछ । अनि परिवर्तन अरुलाई होइन, आफैले आफैलाई गर्नुपर्छ, आफ्नो त्यही परिवर्तनले अरुलाई प्रेरणा मिलोस्, काम गर्दै जानुस् चमत्कार देख्न मिल्छ"
लमजुङ मध्य नेपाल नगरपालिका निवासी सीता शाही । थाेरै कुरा, धेरै काम गर्ने अनि शान्त स्वभावकी व्यक्तित्वका रुपमा चिनिन्छिन् सशक्त समाजसेवी तथा नेतृ सिता साही।
वाग्लुङ जिल्लाको जनता माध्यमिक बिद्यालयबाट आफ्नो एसएलसि सकिएको र महेन्द्र बहुमुखी क्याम्पस अर्थात् अहिलेको धौलागिरी बहुमुखी क्याम्पस भनेर नाम परिवर्तन भएको छ त्यहाँ आफ्नो कलेज सकिएको बताउँछिन्। विसं. २०६१ सालमा विवाह भएर लमजुङमा आएपछि पनि कामहरु निरन्तर रुपमा भइरहेको थियो। विभिन्न संघ संस्थाहरुमा काम गर्दै गर्दा बच्चा सानो भएको कारण आफूले बच्चालाई समय दिन नपाएको कारण काम छोड्नु परेको बताउँछिन्।
हरेक मानिसको जीवनमा विभिन्न किसिमका उतार चढाव र चुनौतीहरु आइरहन्छन्, तर ती चुनौतीहरुको सामना गर्दै जानु पर्छ। नेपाल स्वास्थ्यको लागि पानी भन्ने संस्थामा आफूले समय दिन नपाएपछि काम छोड्नु परेको स्मरण गर्छिन्। त्यसपछि बच्चालाई हेर्ने बस्ने काम गरेको बताउँछिन्।
अवसर बारम्बार आइरहन्छन्, त्यसलाई चिन्न मात्र सक्नुपर्छ । यसरी दिनहरु बित्दै जाँदा आफूलाई पनि सामाजिक काममा अग्रसर हुने ईच्छा भएको र बिद्यालय व्यवस्थापन समितिमा पनि केही समय बसेको सम्झिन्छिन्। त्यसो त ५० प्रतिशत महिलाहरुलाई राख्नु पर्छ भन्ने नीति अनुसार सामुदायिक वनमा समुह गठन गर्ने क्रममा सहसचिव भएर काम पनि गरेको पनि बताउँछिन्।
त्यहाँबाट पनि आफूले धेरै कुरा सिक्न पाएको बताउँछिन् । पढ्ने लेख्ने र सिक्ने कुरा मानिसको लागि कहिले पनि अन्त्य नहुने बताउँने सीता भन्छिन् जीवनमा आफूलाई धेरै पढ्न र सामाजिक सेवा गर्ने ईच्छा छ। जबसम्म मानिसको जीवनमा इच्छाशक्ति कम हुँदैन तबसम्म जोश र जाँगर सधै रहने बताउँछिन्।
त्यसो त महिला शक्ति विकास केन्द्र नेपालले लगाएको गुण आफूले सधै सम्झिरहने बताउँछिन्। गुण भन्नुको अर्थ अवसर भन्न पनि मिल्छ । उनी थप्छिन् सामुदायिक वनमा काम गर्ने क्रममा एक जना दाईले सो संस्था अर्थात् महिला शक्ति विकास केन्द्र नेपालमा कोर लिडर छनौट गर्दैछ भन्ने कुरा सुनेपछि आफू त्यहाँ गएको र छनौटमा परेको बताउँछिन्।
यस संस्थामा हामीले धेरै र विभिन्न किसिमका तालिमहरु लिने अवसर पायौं। सकारात्मक सोच, जेण्डर, महिला हिंसा, उद्घोषण देखि धेरै किसिमको तालिम लिने सुअवसर प्राप्त भयो, त्यसमा पनि आफूलाई नेतृत्व सिप विकास तालिमले धेरै प्रभाव पारेको बताउँछिन्। तालिम दिने क्रममा संस्थामा म्यामहरुले बारम्बार भन्नुहुन्थ्यो कि तपाईहरुले पार्टीलाई भोट दिने गर्नु भएको छ, अबका दिनमा आफूलाई मन परेको पार्टीको लिडर हुनुपर्छ।
यही कुराको प्रभाव गहिरो रुपमा आफूलाई परेको बताउँछिन् । त्यसो त बिद्यार्थी जीवनदेखि नै आफू राजनीति गर्ने तर लिडर भएर अगाडि नबढे पनि पार्टीलाई धेरै सहयोग गर्ने गरेको बताउँछिन्। पारिवारिक पृष्ठभूमि पनि राजनीति नेै थियो। पार्टीलाई सहयोग गर्छु तर लिडर भएर अगाडि बढि नरहेको अवस्थामा यस संस्थाको हौसलाले आफूभित्रको इच्छाशक्ति प्रष्फुटन भएको दाबी गर्छिन्। नेपाल महिला संघको अधिवेशन हुने क्रममा आफू पनि पदमा बस्छु भनेर क्षेत्रिय सदस्यको रुपमा बसेर काम गरेको बताउँछिन् ।
कामले काम सिकाउँछ अनि अनुभवले धेरै ज्ञान सिकाउँछ भने झैं सदस्यको रुपमा काम गर्दै गर्दा पार्टीको लागि दिएको योगदान, बोल्ने कला, काम गर्ने खुबी देखेर पछि पार्टीले, जिल्ला कार्य समितिले सहसचिवको जिम्मेवारी पनि दियो। नेपाल महिला संघ जिल्ला कार्य समिति लमजुङ जिल्लाको सहसचिवको रुपमा रहेको बताउँछिन्।
त्यसपछि २०७४ सालमा स्थानिय निर्वाचन भयो, आफूलाई लागेको थियो कि स्थानिय निर्वाचनमा आफू महिला वडा सदस्य सम्मको जिम्मेवारी निभाउन पाउँछु भनेर, राज्य व्यवस्थापन समितिको निति नै आयो कि महिलाहरु अनिवार्य रुपमा मेयर वा उपमेयरमा बस्नु पर्ने । सो नीति आउने बित्तिकै मध्य नेपाल नगरपालिकामा सबै अग्रजहरुले सीता नै उपमेयरको लागि योग्य भएको ठहर गरे। आफूलाई पनि जोश जाँगर र हौसला भएको बताउँछिन्।
आफू उपमेयरमा उठेको र केही झिनो मतले मात्र पछाडि परेको खुलासा गर्छिन्। असफल हुनु नै सफलताको पहिलो खुड्किलो उकिलनु हो भन्ने उनको मान्यता रहेको छ। सामाजिक सेवा र राजनीतिक क्षेत्र पनि संगसंगै अगाडि बढिरहेको बताउँछिन् सीता । महिला शक्ति विकास केन्द्र नेपालको जिल्ला संयोजकको रुपमा काम गरिरहेको बताउँछिन्।
सिता भन्छिन्, “आफू भित्रैबाट सही हुनुपर्छ, गलत काम गर्नु हुन्न, एकदिन सबैले मूल्याङ्कन गर्छन्।” शुरुमा अवस्थामा राजनीतिमा प्रवेश गर्दा आफूलाई घर परिवारबाट साथ सहयोग नभएको बताउँने शाहीलाई काम गर्नको लागि भने सपोर्ट थियो। बाहिर चौतर्फी वाहवाही भएपछि मात्र घर परिवारले बुझेर सहयोग गरेको पनि जानकारी दिन्छिन्।